काठमाडौं- नेकपा एमाले निकटको कर्मचारी संगठन 'नेपाल निजामती कर्मचारी संगठन' को राष्ट्रिय भेला हुँदैछ। शनिबार राजधानीमा आयोजना हुन लागेको समितिको आठौं बैठक र राष्ट्रिय भेलाको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेकपा एमालेबाट विभाजित भएर माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि नेपाल निजामती कर्मचारी संगठनको बैठक र राष्ट्रिय भेलाको आयोजना गरिएको हो।
पार्टी विभाजनले कर्मचारी संगठनमा खासै असर नपरेको दाबी एमालेले गरेको छ।
तर, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष शरण कुमार गुरुङले भने विद्रोही पक्षको बहुमत रहेको दाबी गरेका छन्।
उनले अध्यक्ष ओली सहभागी हुने कार्यक्रमबाट नै विद्रोह गरेर निस्कने बताए। गुरुङले जबर्जस्ती एक पक्षीय कार्यक्रम गर्न लागिएको बताए। 'हामी बहुमतमा छौं। जबरजस्ती एक पक्षीय कार्यक्रम गर्न लागेका छन्। ओली सहभागी कार्यक्रमबाट हामी बहुमत सदस्य विद्रोह गरी निस्कन्छौं' गुरुङले भने।
उता संगठनले मूल प्रवाहबाट नबाहिरिन भेलाबाट आह्वान गर्ने जनाएको छ। देशभरका निकायबाट करिब एक हजार कार्यकर्ता भेलामा सहभागी हुने जनाइएको छ। भेलाकै अवसरमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमला र प्रभातप्रसाद साहसहित उक्त सङ्गठनका करिब १०० जना केन्द्रीय सदस्य आफ्नो संगठनमा एकताबद्ध हुने सङ्गठनका अध्यक्ष केदार देवकोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।