काठमाडौं- नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व पुनर्गठन हुने भएको छ। शनिबार बस्न लागेको सचिवालय बैठकबाट संगठनको नेतृत्व पुनर्गठन गर्न लागिएको अनेरास्ववियुका इन्चार्ज एवं पूर्वअखिल अध्यक्ष खिमलाल भट्टराईले जानकारी दिए।
‘आगामी चैतमा राष्ट्रिय महाधिवेशन गर्ने तय भइसकेको छ,’ उनले भने, ‘त्यसैले अहिलेको नेतृत्वलाई बिदा गरेर पुनर्गठन गर्न लागिएको हो।’ नेतृत्व पुनर्गठनका लागि शनिबार अनेरास्ववियुले सचिवालयको बैठक बोलाएको छ।
महाधिवेशनसम्म भए पनि अखिलको नेतृत्वका लागि संगठनका पदाधिकारीहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। इन्चार्ज भट्टराईका अनुसार हालका उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र सचिव आरसी लामिछानेले आकांक्षा देखाएका छन्। यी चार जनामध्येबाट नै एक जनालाई नेतृत्वको जिम्मेवारी तोकिने उनले जानकारी दिए।
त्यस्तै बैठकले संगठनका अन्य पदाधिकारी, स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा सदस्यहरूको पनि टुंगो लगाउनेछ। संगठनका अध्यक्ष ऐन महरसहितका बिदा हुने उपाध्यक्षहरुलाई पार्टीको प्रदेश कमिटीमा जिम्मेवारी दिने गरी संगठनको पुनर्गठन हुन लागेको भट्टराईले जानकारी दिए।
अनेरास्ववियुको महासचिवको जिम्मेवारी भने समिक बडाललाई दिने तयारी गरिएको छ। उनलाई अहिले महासचिव बनाएर आगामी महाधिवेशनबाट निर्विकल्प अध्यक्षका रुपमा अघि बढाउन लागिएको अनेरास्ववियुकै एक स्थायी कमिटी सदस्यले जानकारी दिए। अहिलेका अध्यक्ष महर अनेरास्ववियुको २२औं राष्ट्रिय महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए। अध्यक्षमा निर्वाचित भएकी नविना लामा भने नेकपा एकीकरणसँगै बिदा भएकी थिइन्। तत्कालीन नेकपा हुँदा महरले संयोजकको जिम्मेवारी पाएका थिए। एमाले र माओवादी पूर्ववत रुपमा फर्किएपछि अनेरास्ववियुको जिम्मेवारीमा महर नै कायम भएका थिए।
‘पार्टी अध्यक्षको जोडबल भयो भने सुनिता बराल अध्यक्ष बन्नु हुनेछ,’ अखिलका एक स्थायी कमिटी सदस्यले भने, ‘नत्र सिनियर भएकाले रश्मी आचार्यलाई जिम्मेवारी दिइनुपर्छ।’
उनका अनुसार अनेरास्ववियुको स्थायी कमिटीमा यसअघि नै सचिवमा रहेका आरसी लामिछानेलाई जिम्मेवारी दिनुपर्ने मत रहेको थियो। अनेरास्ववियुको २२औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित सचिव सुदेश पराजुली, आरती लामा र वसिम आलम नेकपा (एकीकृत समाजवादी)मा लागिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।