काठमाडौं- नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत लिन असोज ८ गतेसम्मको अल्टिमेटम दिएको छ।
एमाले विभाजन भएपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले त्यतिन्जेल विश्वासको मत नलिए अविश्वास प्रस्ताव ल्याउने चेतावनी गठबन्धनले दिएको छ।
माओवादी केन्द्रका नेता इन्द्र आङबोले शुक्रबार मुख्यमन्त्री आचार्यलाई भेटेरै अल्टिमेटम दिएको बताए।
‘एमाले विभाजन भएपछि मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनु पर्छ। त्यसका लागि उहाँले शपथ लिएको असोज ८ गते एक महिना पुग्छ,’ आङबोले नेपाल लाइभसँग भने, ‘यदी उहाँले त्यतिन्जेलसम्म विश्वासको मत लिनु भएन भने गठबन्धनबाट अविश्वासको प्रस्ताव ल्याएर हटाउँछौ।’
अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्नेमा एकपछि अर्को गर्दै मन्त्रीहरुलाई शपथ खुवाउन थालेपछि गठबन्धनका नेताहरु आक्रोसित भएका हुन्।
‘मुख्यमन्त्रीज्यू अल्पमतमा छु भन्ने थाहा हुँदाहुँदै विश्वासको मत लिनु लाग्नु भएको छैन। त्यसमा कुनै ध्यान दिनु भएको छैन’ आङबोले भने, ‘त्यसपछि गठबन्धनको बैठक बसेर असोज ८ गतेसम्मको अल्टिमेटम दिएका हौ।’
गठबन्धनबाट मुख्यमन्त्रीमा एकीकृत समाजवादी नेता राजेन्द्र राईलाई अघि सारिएको छ। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफैले प्रदेश १ मा आफ्नै पार्टीका नेता मुख्यमन्त्री भएको केही दिनभित्रै देखिने बताए।
‘प्रदेश १ र बाग्मती प्रदेशको मुख्यमन्त्री नयाँ भएको केही दिनभित्रै देख्नु हुन्छ’ शुक्रबार काठमाडौंमा पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्न पुगेका नेपालले भने, ‘समाजवादीकै कुनै नेता मुख्यमन्त्री हुनुहुन्छ।को हुनुहुन्छ त्यो केही दिनभित्रै थाहा पाउँनुहुन्छ।’
प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन्। गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरि गठबन्धनमा ४९ जना सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।