काठमाडौ– नेकपा (एकीकृत समाजवादी) छिट्टै सरकारमा सहभागी हुने भएको छ। काठमाडौंको आलोकनगरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयको भवन उद्घाटनपछि अध्यक्ष माधवकुमार नेपालले आफूहरु छिट्टै सरकारमा सहभागी हुने बताएका हुन्।
केन्द्रसँगै प्रदेशमा पनि नेकपा एस सरकारमा सहभागी हुने उनको भनाइ थियो। ‘हामी सरकारकामा सहभागी हुनेछौं,’ उनले भने, ‘प्रदेश सरकारमा पनि हामी सहभागी हुने छौं।’ असोज ५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकपछि आफूहरु सरकारमा सहभागी हुने उनले बताए।
अध्यक्षको पदभार ग्रहण गर्दै नेपालले नेकपा एस बोलेर होइन गरेर देखाउने पार्टी बन्नेसमेत बताए । ‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौं,’ उनले भने, ‘हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यवहारले पुष्टि गर्नेछौं। जनतालाई अल्मल्याउन दशथरि कुरा गर्दै चल्दैनौं।’
नेपाली नमूनाको समाजवाद कस्तो हुनसक्छ भने र बौद्धिक छलफल गर्दै अघि बढ्ने अध्यक्ष नेपालले बताए। गलत आरोपको सशक्त प्रतिकार गर्न भन्दै उनले कार्यकर्तालाई कसैको भ्रममा नर्पनसमेत आग्रह गरे।
पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने बताउँदै अध्यक्ष नेपालले आगामी चुनावमा गठबन्धन गरेर शक्ति विस्तार गरिने बताए। तत्काल कुनै अर्को पार्टीसँग एकीकरणकाे सम्भावना नरहेको समेत उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।