काठमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टोलिका प्रशिक्षक ग्यारी फिलिप्सले एसियन कप छनोटलाई नेपाली टोलिले खेल र क्षमता प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएका छन्।
असोज २ गतेबाट शुरु हुने एसियन कप छनोटको लागि बिहिबार आयोजित प्रतियोगिता पूर्वको पत्रकार सम्मेलनमा बोल्दै ग्यारीले फुटबल प्रवर्द्धन गर्न मात्र नभई नेपाली टोलिले खेल र क्षमता प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएका हुन्।
‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो। महिला फुटबल प्रवर्द्धनका लागि मात्र होइन, आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा लिनुपर्छ,’ उनले भने।
उनले नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको बताएका छन्। यस्तै, राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको पनि बताए।
उज्वेकिस्तानको ताश्केतस्थित जेएआर स्टेडियममा हुने छनोटमा नेपाल रहेको समूह ‘एफ’ मा र फिलिपिन्स र हङकङ रहेको छ।
नेपालले फिलिपिन्ससँग २ असोजमा खेल्दै छनोटको सुरुवात गर्नेछ। दोस्रो खेल ५ असोजमा हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ।
फिलिपिन्सका प्रशिक्षक मार्लोन मारोले कोभिड-१९ का कारण धेरै टोलीहरुलाई कठिनाइ भएको बताए।
‘हाम्रा पनि धेरै खेलाडी व्यावसायिक जिम्मेवारीमा जापान, अमेरिका लगायत देशमा रहेकाले सामेल हुन सकेनन्,’ उनले भने,‘ तथापी पर्याप्त अनुभव भएका युवा खेलाडीहरु भएकोले हामी राम्रो खेल प्रदर्शन गर्नेछौं।’
यता, हङकङका प्रशिक्षक जोसे रिकार्डो राम्बोले कोरोनाको समयमा पनि प्रशिक्षणलाई निरन्तरता दिइएकोले राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको बताए।
‘हाम्रो तयारी पनि राम्रो छ। अधिकांश खेलाडी एकेडेमीका भएकाले पनि हाम्रो टोली बलियो छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।