काठमाडौं- नेपाल–भारतद्वारा गठित संयुक्त परियोजना अनुगमन समितिको चौथो भर्चुअल बैठकले सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाबारे छलफल गरेको छ।
नेपालस्थित भारतीय दूतावासका अनुसार बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको छ।
१४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकाले बैठकले परियोजनाले हासिल गरेको उपलब्धिप्रति सन्तुष्ट व्यक्त गरेको छ।
दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौतीका बाबजुद पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण कार्य अन्तिम चरणमा रहेको बताएको छ। नेपालको तराई क्षेत्रमा कूल ३०६ किलोमिटर लम्बाइ रहेको १० वटा सडकहरूको निर्माणका लागि भारत सरकारले सन् २०१६ मा ८०० करोड रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।