काठमाडौं- बार्सिलोनाका दुई महत्त्वपूर्ण खेलाडी जोर्डी अल्बा र पेड्री गोञ्जालेज चोटग्रस्त भएका छन्। अल्बाले अन्तर्राष्ट्रिय खेलबाट फर्किँदानै चोट बोकेका थिए। उनले ‘क्वाड्रिसेप्स’को चोट बोकेको बताइन्छ।
यस्तै, पेड्री दुई हप्ताका लागि मैदानबाहिर हुनेछन्। उनलाई ‘ह्यामस्ट्रि’को समस्या रहेको बताइएको छ।
स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेलमा बायर्न म्युनिखसँग ३–० को हार ब्यहोर्दै खराब सुरुवात गरेको थियो।
उक्त खेलमा अल्बा दोस्रो हाफमा सुरुमा बेन्चमा फर्किएका थिए। पहिले उनलाई ‘ह्यामस्ट्रि’को समस्या रहेको बताइएको थियो। तर, परीक्षण पछि यो ‘क्वाड्रिसेप्स’को चोट रहेको बुझिएको छ।
खेलाडीको चोटका कारण बार्सिलोनामा यसबेला भरपर्दा खेलाडीको कमी देखिएको छ। युवा स्टार अंशु फाती, मार्टिन ब्रेथ्वेट,सेर्जियो अगुइरो र डेम्बेले पनि चोटका कारण लामो समयदेखि टिमबाहिर छन्।
यता, क्लब इतिहासका सर्वश्रेष्ठ खेलाडी लिओनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा गएको केही महिनामा नै अर्का स्टार एन्टोनी ग्रिजम्यान पनि पूर्वक्लब एट्लेटिको फर्किएका थिए। त्यसलगत्तै बार्सिलोना यस समय कमजोर टिमको रुपमा देखिएको छ।
टिममा भरपर्दा खेलाडी नहुनु र राम्रो प्रदर्शन गर्न नसक्नुले प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब बढेको छ।
अबको छोटो समयमै बार्सिलोनाले चेल्सी र पीएसजी जस्ता टिमको सामना गर्नेछ। यता, घरेलु प्रतियोगितामा एल्चे, गेटाफे र एलाभेस टिमको सामना गर्नेछ।
बार्सिलोना र बायर्नबीचको यो खेल हेरेपछि धेरैले अनुभव गरेका पनि छन्, मेस्सीबिना बार्सिलोना त्यस्तो रहेन्, जस्तो पहिला थियो।
बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले समर्थकलाई संयमित रहन् र आत्मविश्वास नगुमाउन अनुरोध नै गरेका छन्।
उनले बायर्नविरुद्धको हार पीडादायी रहेको र टिमको प्रदर्शन उत्तिकै खराब रहेको स्वीकार गरेका छन्।
तर उनी यसमा सुधार हुने आशावादी छन्। लापोर्टोले भनेका छन्, ‘समर्थकले हामीमाथिको विश्वास टुटाउनु हुन्न। हामीलाई तपाईंहहरुको विश्वास र केही समयको आवश्यकता छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।