काठमाडौं- जर्मन क्लब बोरुसिया डर्टमुन्डका इंग्लिस युवास्टार जुड बेलिङघम च्याम्पियन्स लिगमा लगातार दुई खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
बुधबार राति च्याम्पियन्स लिगको समूह चरणको बेसिक्टासविरुद्धको पहिलो खेलमा एक गोल गर्दै उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार केलियन एमबाप्पेको कीर्तिमान तोडेका छन्।
उक्त खेल डर्टमुन्डले २–१ को जितेको थियो। उनले १८ वर्ष ७८ दिनमा लगातार दोस्रो गोल गरेका हुन्।
यसअघि पीएसजीका एमबाप्पेले २०१७ मा मोनाकोबाट १८ वर्ष ८५ दिनमा लगातार दुई खेलमा गोल गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
बेलिङघमले गत सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको दोस्रो लेग खेल्दै च्याम्पियन्स लिगको डेब्यू गरेका थिए। उनले उक्त डेब्यू खेलमै गोलसमेत गरेका थिए।
यस्तै, बेलिङघम च्याम्पियन्स लिगको अवे खेलमा गोल गर्ने कान्छो इंग्लिस खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान मर्सिसाइड क्लब लिभरपुलका ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले २०१७ अक्टोवरमा १९ वर्ष १० दिनको उमेरमा मारिवोरविरुद्ध अवे गोल गर्दै यो कीर्तिमान बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।