काठमाडौं- पार्टी एकता र चुनावी तालमेलमा सहमति जुटाउन नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ६० र ४० प्रतिशतको भागवण्डाको सहमति गरेका दुई दलले पार्टी एकीकरणका लागि समेत छलफल सुरु गरेका हुन्।
ललितपुरस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालसँगैको एक घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसहितको वार्ता जारी छ। छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुनसहित एमाले नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ योगेश भट्टराईको सहभागिता छ। 'हिजो तयार भएको मस्यौदालाई अन्तिम रुप दिन हामी छलफलमा छौँ,' एमाले सचिव भट्टराईले भने।
एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन निर्माणका लागि पार्टी एकताको विकल्पमा समेत खुल्ला रहनेगरी सोमबार ७ बुँदे सहमतिको मस्यौदा तयार भएको थियो। त्यही सहमतिको खाकालाई अन्तिम रुप दिन दुई दलका शीर्ष नेता जुटेका हुन्।
सहमतिपत्रको अन्तिम मस्यौदामा मंगलबार नै हस्ताक्षर गर्ने तयारी रहेको नेताहरुले बताएका छन्। एमालेसँग वार्तामा जानुअघि माओवादी केन्द्रले आन्तरिक छलफल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।