काठमाडौं- एएफसी महिला एसियन कप- २०२२ छनोट प्रतियोगिताका लागि उज्वेकिस्तान प्रस्थान गर्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सोमबार टोलीलाई बिदाइ गरेको हो। नेपाली टोली आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ। नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछन्।
छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टोलीको घोषणा गरिसकेको छ।
तर, डिफेन्डर पुनम जर्गा मगर भने उज्वेकिस्तान जाने छैनन्। मुटुको समस्या देखिएपछि उनलाई टोलीमा समावेश गर्न नसकिएको एन्फाले जनाएको छ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।
नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल २ असोजमा हुनेछ।
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल ५ असोजमा हुनेछ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल ८ असोजमा हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
एसियन कप २० जनवरीदेखि फेब्रुअरी ६ सम्म हुनेछ।
नेपाली टिम-
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।