काठमाडौं- बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा दुवै टिमले केही सुनौलो मौका पाएपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो।
सुरुआतदेखि नै दबाबमा राखेको बंगलादेशी खेलाडीले खेलको पहिलो मिनेटमै मौका गुमाएको थियो। कप्तान सविना खातुनको कर्नर बललाई नेपाली गोलरक्षक अन्जना रानामगर पञ्च गर्दै बचाएकी थिइन्।
यस्तै, खेलको पाँचौं मिनेटमा श्रीमोति सरकार र मौसम्मत सोपनाले उत्कृष्ट मूभ बनाए पनि नेपाली डिफेन्डरले सफल हुन दिएनन्। त्यसलगत्तै उनीहरुको तालमेल नमिल्दा बंगलादेशले अर्को मौका खेर फ्याल्यो।
त्यसपछि नेपालले पनि बंगलादेशमाथि दबाब बनाउने प्रयास गरेको थियो। खेलको आठौं मिनेटमा अमृता जैसीको प्रहार बंगालदेशी गोलरक्षकले रूकमा चक्माले सहजै नियन्त्रणमा लिए।
खेलको १०औं मिनेटमा नेपालले अर्को मौका खेर फ्याल्यो। अनिता बस्नेतको पासमा सरु लिम्बूले डिबक्स बाहिरबाट गरेको प्रहार बंगालादेशी गोलरक्षक चक्माले ड्राइभ गर्दै बचाइन्।
खेलको ११औं मिनेटमा बंगलादेशकी सरकारले उत्कृष्ट मूभ बनाउँदै नेपाली पोष्टमा प्रहार गर्न खोजेपनि अमृता बाधक बनिन्।
यस्तै, खेलको २०औं मिनेटमा सरुले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो। खेलको ३०औं मिनेटमा हिराकुमारी भुजेललाई छक्काउँदै फार पोष्टबाट बंगलादेशी खेलाडी सरकारले गरेको प्रहार पोष्टमाथि लाग्दै बाहिरिएको थियो।
३७औं मिनेटमा पुजा रानाले डिबक्स बाहिरबाट फार पोष्टमा दिएको हाइ पासलाई कप्तान रेनुका नगरकोटोले टच गर्न सकिनन्। खेलको ४२औं मिनेटमा नेपालले अर्को मौका खेर फ्याल्यो। विमला चौधरीले बललाई अगाडि बढाउँदै प्रहार गर्न कोसिस गरे पनि बंगादेशका दुई डिफेन्डरले सफल हुन दिएनन्।
पहिलो हाफ दुवैले केही मौका बनाएपनि दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्न सकेनन्। खेलको ६६औं मिनेटमा बंगलादेशी कप्तान सविनाले करिब २६ यार्डबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक अन्जनाले सहजै जम्प गरेर नियन्त्रणमा लिइन्।
६६औं मिनेटमा रश्मी घिसिङ र अनिता बस्नेतको स्थानमा सबिता राना र अनिता केसी मैदान प्रवेश गरेका थिए। ७८औं मिनेटमा हिराले करिब २७ यार्डबाट गरेको प्रहार बंगलादेशकी सेउली अजिलाई लाग्दै बल बाहिरिएको थियो।
८१औं मिनेटमा सविता रानाले दिएको पास बंगादेशकी मारिया मान्डाले हेडर गर्दै डिबक्स बाहिर पुर्याएकी थिइन्। उक्त बल प्रीति राईले नियन्त्रणमा लिएर प्रहार गरेपनि फ्रेमभन्दा निकै बाहिर रहेको थियो।
त्यसलगत्तै सविताले अर्को उत्कृष्ट मूभ बनाउँदै बल डिबक्स नजिकै लगे पनि मसूरा प्रविण र निलुफा निलाले तालमेल मिलाउँदै क्लियर गरिन्।
८९ औं मिनेटमा नेपालकी रजनी थोकरले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरिन्। उनी प्रिती राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।
९०औं मिनेटमा करिब २७ यार्डबाट सरुले गरेको प्रहार चक्माले सहजै नियन्त्रणमा लिएर संकट टारेकी थिइन्। एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।
दोस्रो खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो खेलमा पहिलो रोजाइमा तीन खेलाडी परिवर्तन गरेका थिए।
उनले गोलकिपर एन्जिला सुब्बा, मिडफिल्डर मन्जलीकुमारी योन्जन र सविता रानाको स्थानमा अन्जना राना मगर, अनिता बस्नेत र रश्मि कुमारी घिसिङलाई पहिलो रोजाइमा खेलाएका थिए।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट दशरथ रंगशालामा उत्रिँदा महिला टिमले बिहीबार बंगलादेशमाथि २–१ को संघर्षपूर्ण जित हात पारेको थियो।
सिनियर टिममा पहिलोपल्ट अवसर पाएका सविता राना र प्रीति राईले पहिलो हाफमा गोल गरेपछि नेपालले बंगलादेशविरुद्ध छैटौं जित हात पारेको थियो।
नेपाललले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो। यसअघि सन् २०१९ मा भएको ओलम्पिक छनोटमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो। नेपाल र बंगलादेशबीच अहिलेसम्म ८ खेल हुँदा नेपाल अपराजित छ।
उज्वेकिस्तामा हुने महिला एसियन कप छनोटको समूह ‘एफ’ मा नेपाल, फिलिपिन्स र हङकङ रहेका छन् भने बंगलादेश रहेको समूह ‘जी’ मा जोर्डन र इरान छन्।
समूह विजेताले सन् २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एएफसी महिला एसियन कप प्रतियोगितामा स्थान बनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।