काठमाडौं– पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा धादिङको त्रिपुरासन्दरी गाउँपालिका-५ घर भई हाल काठमाडौं फुटुङ बस्नेत २५ वर्षीय आशिष कुँवर र उनका सहोदर भाइ २० वर्षीय अभिषेक कुँवर छन्।
यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका-१ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर समेत पक्राउ परेका छन्। आँखा अस्पतालका चिकित्सकलाई भदौ २४ गते आशिष कुँवरले बारम्बार फोन गरी अस्पताल र घरमा बम पड्काई ध्वस्त पारीदिने धम्की दिएका प्रहरीले जनाएको छ।
अस्पताल र घर परिवार सुरक्षित राख्ने भए ३ रुपैयाँसहित नागढुंगामा आउन भनेका प्रहरीले बताएको छ। उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट अपराधिक लाभ (एक्सटर्सन) मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको परिसरका एसपी रमेश बस्नेतले बताए।
पक्राउ परेका तीन जनाको समूहले भदौ २५ गते आँखा अस्पतालमा नक्कली बम राखेका थिए। पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।