काठमाडौं- बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा बायर लिभरकुसनमाथि पूनरागमन जित हात पारेको छ।
लिभरकुसनको घरेलु मैदान बे एरिनामा शनिबार भएको खेलमा डर्टमुन्डले ४-३ को पूनरागमन जित निकालेको हो।
डर्टमुन्डको जितमा एर्लिङ ब्राउट हालान्डले दुई गोल गर्दा जुलिएन ब्रान्ड र राफयल गुरेइरोले समान एक गोल गरे। घरेलु टोलीका लागि फ्लोरिएन रिट्ज, प्याट्रिक सिक र मौसा डियावीले गोल गरेका थिए।
खेलको नवौं मिनेटमा फ्लोरिएन रिट्जको गोलबाट बायर लिभरकुसनले सुरुवाती अगता लिएको थियो। ३७औं मिनेटमा हालान्डले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।
३९औं मिनेटमा जुड बेलिङघमले गोल गरेपनि भिएआरबाट गोलले मान्यता पाएन। उक्त गोलको मुभमा फल देखिएको थियो।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा प्याट्रिक सिकले गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए।
४९औं मिनेटमा हालान्डको पासमा जुलिएनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। ५५औं मिनेटमा मौसा डियावीले गोल गर्दै बायर लिभरकुसनलाई पुनः ३-२ को अग्रता दिलाए।
७१औं मिनेटमा राफयल गुरेइरोले गोल गर्दै खेललाई ३-३ गोलको बराबरीमा ल्याए। ७७औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै डर्टमुन्डलाई जित दिलाए।
पेनाल्टी बक्समा कप्तान मार्को रिउसलाई ओडिलोन कोस्सोनोउले फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै डर्टमुन्डलाई पेनाल्टी दिएका थिए।
जितसँगै डर्टमुन्डको ४ खेलबाट ९ अंक पुगेको छ। पराजित लिभरकुसनको ७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।