काठमाडौं- प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहमले जारी इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ।
सेलहर्स्ट पार्क लन्डनमा शनिबार राति भएको खेलको दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको टोटेनहम घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो।
क्रिस्टल प्यालेसका लागि प्रिमियर लिगमा डेब्यू गरिरहेका ओडसोन इडुआर्डले दुई तथा विलफ्रेड जाहा एक गोल गरे।
५८औं मिनेटमा जाफेट टान्गान्गा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम १० खेलाडीमा सिमित भएको थियो।
७६औं मिनेटमा वेलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
कोनोर गाल्लाघरको क्रसलाई पेनाल्टी बक्समा बेन डेभिसले हातले बल छोएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
८४औं मिनेटमा इडुआर्डले जाहाकै पासमा गोल गर्दै अग्रता दोब्बर पारे। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इडुआर्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा टोटेनहमलाई ३–० ले पराजित भयो।
जितसँगै क्रिस्टलको ४ खेलबाट ५ अंक पुगेको छ। पराजित टोटेनहमको ४ खेलबाट ९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।