काठमाडौं- थ्री स्टारले युवा मिडफिल्डर लाकेन लिम्बुलाई अनुबन्धित गरेको छ। थ्री स्टारले शनिबार १९ वर्षीय मिडफिल्डर लाकेनलाई अनुबन्ध गरिएको जनाएको हो।
सहिद स्मारक ए डिभिजन लिग नजिकिँदै गर्दा थ्री स्टारले मिडफिल्डर लाकेनलाई अनुबन्ध गरेको हो। उनीसँग लामो समयसम्मका लागि सम्झौता गरिएको बताइएको छ।
लाकेन पहिलोपटक शीर्ष डिभिजनको क्लबसँग अनुबन्धित भएका हुन्। उनी ट्रायल पास गर्दै क्लबसँग जोडिएका हुन्। लाकेन १२ वर्षको उमेरमा सिंगापुरको एफ-१७ फुटबल एकेडेमीमा भर्ना भएका थिए।
तीन वर्ष त्यस एकेडेमीमा बिताएर उनले एएनजेए सोकर एकेडेमीमा आबद्ध भएका थिए। उनले त्यहाँबाट तीन वर्ष खेलेका थिए। एकेडेमीमा रहँदा उनले स्विडेन, मलेसिया र स्पेन लगायतका देशमा फुटबल प्रतियोगिता खेलेका थिए।
नेपालमा उनले धरानको फोकस-१६ क्लबबाट मोसफलको प्रतियोगिता खेलेका थिए। सम्झौतापछि बोल्दै लाकेनले थ्री स्टारबाट ए डिभिजन लिग खेल्नका लागि उत्साहित भएको बताए।
'जब मैले फुटबल खेल्न थालेँ र मैले देश फिर्ता भएर देशको क्लबबाट खेल्ने सोचेको थिएँ। कोभिड महामारीभन्दा अगाडि मेरो परिवार नेपाल फर्किएको हो। महामारीको कारण मैले धेरै खेल्न पाएको छैन तर केही मोसफलको प्रतियोगिता खेलेँ,' उनले भनेका छन्, 'प्रतिष्ठित क्लब थ्री स्टारबाट ए लिग खेल्नका लागि उत्साहित छु। र, क्लबका लागि उत्कृष्ट खेल्नेछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।