काठमाडौं- नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना संविधानले सुम्पेको दायित्व बहन गर्न हरदम तयार रहेको बताएका छन्।
सेनाको नेतृत्व सम्हालेपछि जंगी अड्डामा पहिलो पटक सम्बोधन गर्दै उनले जस्तोसुकै जटिल परिस्थितिमा पनि सेनालाई सुम्पिएको दायित्व पूरा गर्न सदैव तयार रहनु सेनाको प्रमुख कर्तव्य भएको उल्लेख गरे।
सकल दर्जालाई गरेको पहिलो सम्बोधनमा उनले संविधानले नेपाली सेनालाई देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता,स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा जगेर्ना गर्न महत्त्वपूर्ण दायित्व सुम्पेको बताए।
'जस्तोसुकै जटिल परिस्थितिमा समेत संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्र हित र स्वार्थको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयार रहनु सेनाको प्रमुख कर्तव्य हो', उनले भने।
प्रधानसेनापति शर्माले नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिबाट निर्दिष्ट जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै सैनिक मूल्यमान्यता, संस्कृति, प्रचलन र परम्पराको जगेर्नामा तत्पर रहने बताए।
विद्यमान र सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास गरिनेसमेत उनले उल्लेख गरे।
सेना सामूहिक भावनाबाट चल्ने र सैनिक संगठनलाई सुदृढ तथा सशक्त बनाउन सामूहिक भावनाअनुरुप निर्णयहरु गरिने उनले दोहोर्याए। त्यसैगरी सेनाले चेन अफ कमाण्डलाई पूर्णरुपमा अबलम्बन गर्दै कुनै पनि किसिमका सैनिक अनुशासन, पदीय मर्यादा र आचरणविपरीतका गतिविधि तथा संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवाञ्छित गतिविधि किमार्थः क्षम्य नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।