काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सबैको सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन्।
संयुक्त राष्ट्र संघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको आयोजनामा यही सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय अनलाइन कार्यशालालाई ‘सेफ्टी एण्ड सेक्युरिटी अफ यूएन पिसकिपर्स’ विषयमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै आईजी खनालले सो कुरा बताएका हुन्।
महानिरीक्षक खनालले शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि एम्बुस तथा माइनहरुबाट सुरक्षित रहन पर्याप्त मात्रामा सचेतना र क्षमता अभिवृद्धि गर्नुपर्ने बताउँदै शान्ति स्थापनार्थ परिचालनपूर्वको तालिममा यससम्बन्धी क्षति न्यूनीकरण गर्ने उपायबारे समेत प्रशिक्षण प्रदान गर्नुपर्ने बताए।
शान्ति मिसनको कार्यादेशलाई प्रभावकारी ढंगले पूरा गर्नका लागि फर्म्ड पुलिस युनिट र इन्डिभिजुअल पुलिस अफिसरको रुपमा खटिने सुरक्षाकर्मीका लागि खटिनुपूर्व मिसन लक्षित तालिम सञ्चालन गर्नुपर्नेमासमेत उनले जोड दिए। यसरी तालिम प्राप्त र क्षमता भएका कर्मचारीहरु स्रोत साधन सम्पन्न भइ परिचालित हुँदा आफू सुरक्षित रही प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्न सकिने उनले बताए।
महानिरीक्षक खनालले बदलिँदो सुरक्षा परिस्थिति र चुनौतीलाई मध्यनजर गर्दै मिसन लक्षित पूर्वतयारीले यसमा खटिने कर्मचारीको सुरक्षामा सहयोग पुग्ने बताए।

कुशल नेतृत्व, सामूहिक भावना र सहकार्य, अनुशासन, इमानदारी, सही योजना, समन्वय तथा कमाण्डरको क्षमता नै शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाका लागि महत्त्वपूर्ण हुने कुरामा जोड दिँदै उनले संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरुको तर्फबाट गरिएका कार्यलाई सार्थक बनाउनको लागि यस प्रकारका सम्मेलन महत्त्वपूर्ण हुनेसमेत बताए।
महानिरीक्षक खनालले आफ्नो सम्बोधनको क्रममा आफू शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा विभिन्न जिम्मेवारीमा रही खटिएको अनुभव स्मरण गर्दै मिसन इलाकामा प्रभावकारी इन्टिलिजेन्सको परिचालनले सम्भावित चुनौती र हुनसक्ने घटनालाई न्यूनीकरण गर्न सकिने भएकोले इन्टिलिजेन्स नेटवर्कलाई प्रभावकारी बनाउनुपर्नेमासमेत जोड दिए।
उक्त कार्यशालामा आयोजक राष्ट्र चीनका एक्ज्युकेटिभ भाइस मिनिस्टर वाङ झियाओहोङ, संयुक्त राष्ट्रसंघका उपमहासचिव जं पियर लाक्वा, यूएन पुलिस एडभाइजर लुइस कारिल्हो सहभागी थिए। उनीहरुसँगै फ्रान्स, जर्मनी, अर्जेन्टिना, बंगलादेश, पाकिस्तानसहित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सहभागी भएर योगदान पुर्याउने विभिन्न देशका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।