काठमाडौं- प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध जारी राख्यो।
सरकारले बजेटसम्बन्धी अध्यादेश पेस गर्ने कार्यसूची बनाएको अवस्थामा एमालेका सांसदहरु बैठक सुरु भएलगत्तै वेल घेर्न पुगेका थिए। संसद्को रोष्टममा उक्लने स्थानमा उनीहरुले घेरेर बसेका थिए भने संसद्का मर्यादापालकहरु उनीहरुलाई छेकेर बसेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले पटक-पटक संसद् बैठक सञ्चालन गर्न दिन एमालेसँग माग गरेका थिए। सभामुख सापकोटाले जनताका धेरै अजेन्डाहरु संसद्मा छलफल गर्नुपर्ने भएकाले सूचारु गर्न आग्रह गरेका थिए। तर एमाले सांसदहरुले नाराबाजीलाई निरन्तरता दिएपछि सभामुख सापकोटाले पहिलो बैठक १५ मिनेट स्थगित गरेका थिए।
सभामुख सापकोटाले दोस्रो बैठक राख्दै सदन अघि बढाएका थिए। लगत्तै कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेशको विरोधको सूचनाबाट सभामुख सापकोटाले संसद्को कारबाही सुरु गरे। उनले बजेट अध्यादेशमा विरोधको सूचना दिएका सांसद प्रेम सुवाललाई बोल्न समय दिए।
लगत्तै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्टममा बोलाए। सत्तापक्षको कुर्सीमा बसेका अर्थमन्त्री कसरी रोष्टममा पुग्ने हेरिरहेका थिए। सभामुखले बोलाएपछि उनी विरोध भइरहेको भन्दा अर्को स्थानबाट दौडिएर रोष्टममा पुगेका थिए। उनले सुवालले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।