काठमाडौं- तिनकुने–माइतीघर सडकखण्ड ८ लेनमा विस्तार भएको पाँच वर्ष पुग्न लागिसक्यो। तर ८ लेनको उक्त फराकिलो सडक अन्तर्गत पर्ने तिनकुनेस्थित बागमती र बिजुलिबजारस्थित धोबिखोलामा अहिलेसम्म पुल बन्न सकेको छैन।
विस्तारित ८ लेन सडकमा नयाँ पुल नबन्दा धोबिखोला र बागमतीमा अहिलेसम्म ४ लेनको पुल मात्र छ। यसले सवारी आवागमनमा समस्या परिरहेको छ। सडक र पुल निर्माणको जिम्मेवारी पाएको निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाकै कारण उक्त खण्डमा पुल निर्माणको काममा ढिलाई भएको हो।
सडक फराकिलो भएको यति लामो समयसम्म पनि बनिनसकेको उक्त पुलको काम अब कहिले सकिन्छ त?
आयोजनाका अनुसार चालु आर्थिक वर्षभित्र नै दुवै स्थानको पुल निर्माण सक्ने गरी काम अगाडि बढेको छ। बागमती र धोबीखोलामध्ये पहिला धोबिखोलाको पुल निर्माण सम्पन्न हुनेछ।
धोबिखोलामा पुल निर्माणको जिम्मा जेई कन्स्ट्रक्सन प्रालीले पाएको छ। उक्त कम्पनीले पुल निर्माणको काम अगाडि बढाइसकेको छ। धोबिखोलाको हाल सञ्चालनमा रहेको पुलको तल्लो भाग र माथिल्लो भागमा पुल बनाउन सुरु भएको हो।
इन्जिनियर विश्व विजयलाल श्रेष्ठका अनुसार बागमती र धोबिखोलामा नेपालमै पहिलो पटक आर्क (अर्धवृत्ताकार संरचना) प्रविधिमा ‘नेटवर्क आर्क ब्रिज’ बनाउन लागिएको हो। यो पुल हेर्दा अन्य पुलभन्दा छुट्टै देखिन्छ।
कस्तो हुन्छ ‘नेटवर्क आर्क ब्रिज’ ?
यस्ता पुलको माथिल्लो भागमा अर्धवृत्ताकार आकृतिका संरचना हुनेछ। अर्धवृत्ताकार संरचनामा बलिया तारहरु जडान गरिएको हुन्छ। अहिले भइरहेका पुलहरुमा जस्तो पिलर हुँदैन।
पुलका डिजाइनमा संलग्न वरिष्ठ इन्जिनियर राधाकृष्ण मल्लिकका अनुसार अन्य पुलमा जस्तो पिलर नहुने यस्तो पुलमाथि सवारीसाधन गुड्दा त्यसको भार अर्धवृत्ताकार संरचना (आर्क) र त्यसमा जोडिएका तारहुँदै पुलकै दुवै किनारमा बनाइएको संरचन (एम्बुटमेन्ट) माथि पर्ने गर्छ। पुराना प्रविधि भन्दा नयाँ प्रविधि अनुसार बनाइने यस्तो पुल निर्माणको लागत सस्तो पर्नुका साथै बलियो र सुन्दर समेत हुन्छ।
जेई कन्सट्रक्सनका सिनियर प्रोजेक्ट म्यानेजर राधाकृष्ण देवका अनुसार पुलको आर्क सिमेन्ट, कंक्रिट र रडबाट निर्माण हुने छ। प्राविधिक रुपमा आर्कमा प्रयोग हुने सामाग्रीलाई रेनफोर्स सिमेन्ट कंक्रिट (आरसिसी) भनिने उनले जानकारी दिए।
धोबिखोलामा बनाइने पुलको लम्बाई ५०. ३ मिटरको हुने छ। पुलको चौडाई भने तीन लेनको १२ मिटर हुने छ । सवारी गुड्ने चौडाईसहित पुलमा २ मिटर चौडाको फुटपाथ समेत हुनेछ । धोबीखोलामा बनिरहेको पुलको लागत १३ करोड १३ लाख २५ हजार छ।
बागमतीमा बनाइने पुलको लम्बाई भने धोबीखोलाको भन्दा केही बढी छ। बागमतीमा बनाइने दुवै पुलको लम्बाई ८५.२२ मिटरको हुने छ। तीनकुनेस्थित बागमतीमा बन्न लागेको पुलको अनुमानित लागत २१ करोड १३ लाख २५ हजार रहेको आयोजनाले जनाएको छ। धोबिखोलाको झैँ बागमतीको पुल पनि १२ मिटर चौडाको हुने र दुई मिटर फराकिलो फुटपाथ हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।