काठमाडाैं– नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले पदबाट राजीनामा दिएका छन्। कांग्रेस स्रोतका अनुसार उनले राजीनामा दिइसकेका छन्।
यादवले भने राजीनामाको विषयमा बोल्न चाहेनन्। उनले भने, 'सभापतिसँग भेट्छु। अनि भन्छु।'पार्टीले क्रियाशील सदस्यताको सूची उपलब्ध नगराएको तथा डडेल्धुराको विवादले उनले राजीनामा दिएको बताइएको छ। पार्टीले २० जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गर्न सकेको छैन।
पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चरम विवादबीच वडा अधिवेशन तोकिएको छ। वडा अधिवेशन शुक्रबार (आज) हुने गरी निर्वाचन अधिकृतले तालिका प्रकाशित गरेपछि जिल्ला सभापति कर्णबहादुर मल्लले बहिष्कार गर्ने घोषणा गरेका छन्। ५ सय बढी क्रियाशील सदस्यता विवाद रहेको उनले बताए।
विवाद समाधान गरेर मात्रै डडेल्धुराको वडा अधिवेशन गराउन वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि , नेता डा शेखर कोइरालालगायतले सभापति देउवासँग आग्रह गरेका थिए।
पार्टीभित्रको विवादकै कारण समितिका पूर्व संयोजक राधेश्याम अधिकारीले पनि राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।