काठमाडौं- फरवार्ड सावित्रा भण्डारीले नेपाली महिला फुटबल टोलीलाई शुभकामना दिएकी छन्। कतारमा रहेकी सावित्राले बिहीबार सामाजिक सञ्जालमार्फत् टोलीलाई शुभकामना दिएकी हुन्।
गत वर्ष भएको महिला राष्ट्रिय लिगका क्रममा घुँडामा चोट लागेपछि सावित्रा हाल कतारमा उपचाररत छिन्। उनको घुँडाको शल्यक्रिया भइसकेको छ।
उनले बिहीबार नेपाली महिला फुटबल टोलीले बंगलादेशसँग पहिलोपटक दशरथ रंगशालमा मैत्रीपूर्ण खेल खेल्न लाग्दा अन्त्यन्तै खुसी लागेको बताइएकी हुन्।
‘देश बाहिर रहेर पनि मेरो मन टोलीसँगै रहनेछ। दशरथ रंगशालामा महिला टोलीको डेब्यू खेलमा सफलताका लागि टोलीलाई हृदयदेखि शुभकामना,’ उनले लेखेकी छन्।
यद्यपी, राष्ट्रिय महिला टोलीमा परेपनि चोटका कारण पहिलो पटक टिमबाट बाहिर रहँदा मन खिन्न रहेको बताएकी छन्।
अर्को वर्ष भारतमा हुने एएफसी महिला एसियन कपको छनोट खेल खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
यसअघि महिला टिमले २०१६ डिसेम्बरमा मलेसियासँग भएको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो।
नेपाली महिला फुटबल टिमले मलेसिया, कतार र कुवेतसँग मैत्रीपूर्ण खेल खेलेपनि बंगलादेशसँग भने यो खेल पहिलो हो।
बंगलादेशसँगको पहिलो खेल बिहीबार साँझ ५ः३० बजे दशरथ रंगशालमा सुरु हुनेछ भने दोस्रो खेल सोमबार सोही समयमा हुनेछ।
नेपाली महिला टोलीले १० दिनपछि एएफसी छनोट उज्वेकिस्तानमा खेल्दैछ। नेपाली टिम प्रतियोगितामा समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। नेपालले २ असोजमा फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ।
यस्तै, नेपालले दोस्रो खेलमा ५ असोजमा हङकङको सामना गर्नेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
बंगलादेश भने समूह ‘जी’मा छ। नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टोलीमा अनुभवीका साथै युवा खेलाडीको समिश्रण रहेकाले अर्को महिना उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२२ मा छनोट हुने आशा व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।