फाइल तस्वीर
काठमाडौं– अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा राजधानीका विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिएकाहरु पक्राउ परेका छन्।
एमसीसीको विरोधमा उत्रिएको भन्दै प्रहरीले थापाथली इन्जिनियरिङ क्याम्पस परिसरमा चिया–खाजा खाइरहेका नीर्ग नवीन र कुमार बर्तौलालाई पक्राउ गरेको उन्मुक्त पुस्ताका अभियान्ता मुक्तान थेवाले जानकारी दिए। उनका अनुसार अन्य केही युवाहरु भने भागेर पक्राउ हुनबाट जोगिएका छन्।
यस्तै, बुधबार काठमाडौंको बानेश्वरबाट पाँच जनालाई पक्राउ गरिएको थियो। उनीहरुलाई राजधानीका विभिन्न स्थानमा राखिएको थेवाले बताए। यसरी पक्राउ पर्नेमा सुजन रम्तेल, दीपक बिसी, टेकराज बिसी, विमल रोका र सन्देश गिरि छन्।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने खबर सार्वजनिक भएसँगै युवाहरुले सम्झौताविरुद्धको प्रदर्शनलाई व्यापक बनाएका थिए।
एमसीसी उपाध्यक्ष सुमार बिहीबार नेपाल आइसकेकी छन्। बिहीबारै उनले विभिन्न नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। बिहीबार बिहान काठमाडौं उत्रिएकी सुमारले पहिलो भेटवार्ता नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।