काठमाडौं– चौथो आरबीबी एनभीए महिला क्लव लिग च्याम्पियनसिप भलिबलको उपाधि बिभागीय टोली एपीएफले जितेको छ।
शनिबार राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा भएको फाइनलमा चीर परिचित प्रतिद्वन्दी शिवम् न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो। एपीएफको यो सिजनको तेस्रो उपाधि हो।
यसअघि एपीएफले शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबल र सभामुख कप राष्ट्रिय भलिबलको उपाधि जितेको थियो । तीनै प्रतियोगितामा शिवम् न्यु डायमण्डको फाईनलमा पहिलो भेट हो। पश्चिमाञ्चलबाट खेलिरहेका मञ्जु गुरुङ र अरुणा शाहीलाई टिममा सहभागी गराएको न्यु डायमण्डले लिग चरणमा भने एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो । नियमित खेलाडी कृपा अधिकारी आर्मीमा भर्ना भएपछि त्यसको असर न्यु डायमण्डको खेलमा देखियो । एपीएफले न्यु डायमण्डलाई २५–१४, २५–२३ र २५–१९ को सेटमा पराजित गरेको हो ।
उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ पुरस्कार पाएको छ भने न्यु डायमण्डले १ लाखमा चित्त बुझाएको छ । तेस्रो भएको नेपाल पुलिसले ५० हजार तथा चौथो भएको त्रिभुवन आर्मीले २५ हजार रुपैयाँ पुरस्कार पायो ।
शनिबारै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले आर्मीलाई २५–२०, २५–२३ र २५–२१ को सेटमा हराएको हो ।
एपीएफ क्लवकी सरस्वति चौधरी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् । उनले २५ हजार रुपैयाँ पुरस्कार पाइन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट स्पाइकर न्यु डायमण्डकी प्रतिभा माली, उत्कृष्ट सेटर आर्मीकी जानकी भण्डारी, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर न्यु डायमण्डकी अरुणा शाही, उत्कृष्ट डिफेण्डर न्यु डायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक न्यु डायमण्डका कुमार राई घोषित भए । उनीहरु सबैले जनही ५ हजार पुरस्कार पाए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, नेपाल सेटलाइट टेलिकम प्रालिकी कार्यकारी निर्देशक अस्मिता सुमार्गी, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायले पुरस्कार वितरण गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।