फाइल तस्बिर ‘तीज भनेको कस्तो चाड होला?’
बाजुरा सदरमुकाममा पढ्न आएपछि पहिलो पटक तीजबारे थाहा पाएको थिएँ। मेरो बाल्यकालमा सुदूरपश्चिमका पहाडी गाउँतिर यो चाडबारे थाहा नै थिएन। कुनै पनि समुदायले दर खाएको, तीज मनाएको, दिदी बहिनी माइतमा भेला भएको मैले देखिनँ। मेरा हजुरआमा, आमा, भाउजूले पनि तीज मनाएको थाहा पाइनँ।
बाजुरा सदरमुकाममा तीजबारे थाहा पाएँ, यसका विकृतिबारे काठमाडौँ आएपछि बुझेँ।
‘तीज आयो, गहना र साडी कहिले किन्दिने?’
धनु विश्वकर्माकेही दिनअघि आफ्नै उमेरसरहकी साथीले श्रीमानसँग यस्तो माग गर्दै थिइन्। म भने अचम्ममा परिरहेँ। बजार तताइरहेको तीजको तडकभडक र रौनकले मलाई कति पनि छुने गरेको छैन।
मलाई यसको रमझमले नछुनुको अर्थ अरु पनि यस्तै हुनुपर्छ भन्ने होइन। तर, मेरोजस्तो तीजै नमान्ने समुदायका मानिस पनि अहिले यसलाई भद्दा तरिकाले मनाउन थालेका छन्।
सुदूरपश्चिम र कर्णालीका पहाडी भूगोलमा तीज, फागु पूर्णिमा/होली, जनैपूर्णिमा/रक्षाबन्धन जस्ता चाड पछि फैलिएका हुन्। बरु त्यहाँको मौलिक आफ्नै रितिरिवाज र चाड छन्। भुवो, अन्ते, भोस्सो, बिसु, पुस १५, गौरा र भैलो मनाइन्छ। म यी पर्वसँग नजिक छु।
काठमाडौँमा स्नातक पढ्न थालेपछि मैले तीजलाई नजिकबाट महसुस गरेँ। आर्थिक अवस्था जस्तो भए पनि दर खुवाउनै पर्ने। कुनै एक ठाउँमा भेला भएर सामूहिक रुपमा मनाएर पनि नहुने। आज कसैले बोलाए, ‘पैँचो तिरेझैँ’ आफूले पनि उसलाई बोलाउनै पर्ने। यसले शहरमा बस्ने निम्न वर्गका मानिसलाई त मारमा पार्ने नै भयो, त्यो मारमा पुरुष पनि पर्छन्। अनि किन हामीले यो अव्यवहारिक चलनको विरोध नगर्ने?
गत वर्ष तीजको छेको पारेर कलेजमा सँगै पढ्ने साथी अस्मिता घर गइन्। उनी घरबाट आएपछि तीजका रमाइलो सुनाउन थालिन्। तर, उनी परम्परादेखि चलेका गलत चलनविरुद्ध लड्ने केटी हुन्। महानावारीका बेला गरेको 'पाप पखाल्न' ऋषि पञ्चमीको व्रत बस्ने चलनविरुद्ध उनले ‘धावा’ बोलेकी थिइन्।
उनले त्यो दिन फेसबुकममा स्टेटस लेखेर नै आफ्नो असहमति जनाएकी थिइन्। उनको घरमा हजुरआमा, आमा र काकी हुनुहुन्छ। उनले यी, यस्ता प्रथा गलत भएको भनेर नुहाउन खोला किनार जान मानिनछिन्। त्यति गरेवापत उनले परिवारका सदस्यको गाली सहनु परेछ। तर, उनी आफ्नो अडानमा बसिछिन्।
उनले भनेपछि मात्र थाहा पाएँ, ऋषि पञ्चमी पर्वका बारेमा। महिनावारी हुँदा ‘छुन नहुने कुरा छोएर गरेको पाप’ पखाल्न व्रत बसेर अनेक ढंगले पूजा गर्नुपर्ने रहेछ। हामी त महिनावारी हुँदा छाउपडी जानुपर्ने संस्कारमा हुर्किएका मान्छे। छाउ हुनुलाई ‘पापको परिणाम’ मान्ने ठाउँका मान्छे। हाम्रो ठाउँमा कसरी ऋषि पञ्चमीको ‘कुसंस्कार’ नपुगेको रहेछ कुन्नी?
त्यसो त मैले पनि हरेक महिनाको पाँच दिन छाउ बारेर छोइछिटो जस्तो घृणित व्यवहार व्यहोर्दै आएँ। थाहा छ, यो चलन महिलाद्वेषी छ। तर, हामी पुरुषसत्ताको अधिनमा छौँ। हामी बाध्य छौँ, पुरुषले चलाएका नियममा चल्न।
पुरुषसत्ताले नै हो महिलालाई 'बोक्सी' बनाउने। अझ यसमा जात पनि जोडिन्छ। कथित उच्च जातका मान्छेहरु दलित महिलालाई कति सजिलै बोक्सीको आरोप लगाउँछन्, हामीले देखेकै छौँ। अनि ‘झारफुकका पसल’ थाप्ने पनि उनै हुन्छन्।
महिलामाथि हुने हिंसालाई प्रोत्साहन गर्न ऋषि पञ्चमी जस्ता चाड पनि जिम्मेवार छन्। जबकि, महिनावारीलाई नै अपवित्र मानेर महिला आफैँ ‘पाप पखाल्न’ लाइनमा बस्छन्। यसको अर्थ महिला आफैंले महिनावारी ‘पाप’ हो भनेर स्वीकारेका छन्। यसमा शहरकै महिला संलग्न छन्।
जुन मनोविज्ञानले शहरका महिला ऋषि पञ्चमी व्रत बस्छन्, त्यही मनोविज्ञानले सुदूर पश्चिममा छाउपडी बसिन्छ। जुन मनोविज्ञानले शहरका पुरुषले आफ्ना श्रीमती र चेलीबेटीलाई ऋषि पञ्चमी व्रत बस्न लगाउँछन् वा साथ दिन्छन्, त्यही मनोविज्ञानले सुदूर पश्चिमका पुरुषले महिलालाई छाउपडी बसाउँछन्। चेतनाको नारा लगाइरहँदा औँला कता–कता घुम्छन्, त्यसको हिसाब यसरी नै हुन्छ।
छुवाछूत, छाउपडी, कमलरी, कमैया, बोक्सी जस्ता कुप्रथा धनी, पढेलेखेका र सम्भ्रान्तले नै जोगाउँछन्। निम्न वर्गसँग त्यो सामाजिक प्राधिकार हुँदैन। उनीहरु त उपल्लो तहमा रहेकाले बनाएको नियममा चल्ने हुन्। समाज सुधार्ने हो भने ‘सिँढी माथिबाट बढार्नुपर्छ’ भन्ने चिनियाँ उखान यहाँ पनि लागू हुन्छ।
तर, त्यसका लागि विद्रोहको झिल्को बाल्नुपर्ने अन्यायमा पर्ने समुदाय र लिङ्गले नै हो। पहिला महिला बोल्नुपर्छ। अनि पुरुषले साथ दिनुपर्छ।
योग्य पति पाउन तीजको व्रत बस्ने कुरा कति अन्यायपूर्वक लादिएको छ! एउटी नाबालिका सबै काम छाडेर योग्य पति पाउन व्रत बस्छिन्। छोरीलाई त्यसरी ‘कामना’ गराउनुभन्दा उनैलाई योग्य बनाउनु पो बाबुआमाको कर्तव्य हो। व्रत बसाएर आफ्नी छोरीलाई किन ‘अयोग्य’ सावित गर्नुहुन्छ?
म खुसी छु कि मैले शहरका यी कुसंस्कार अंगाल्नु परेन। तर, म दु:खी पनि छु कि मेरो समाजको अर्को कुसंस्कार विरुद्ध अझै लड्नु परेको छ। नजाने, आगामी कति पुस्ता यी कुसंस्कारमा पिल्सिरहने हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।