काठमाडौं– बिहीबार विहान नेपाल आइपुगेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले भेटवार्ता सुरु गर्ने भएको छ।
चार दिने भ्रमणका लागि आज बिहान उपाध्यक्ष सुमारसहितको टोली कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेको थियो।
उपाध्यक्ष सुमारसहितको टोलीले पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएको छ। ओली र सुमारबीचको भेटवार्ता आज दिउँसो २ बजे बालकोटमा हुने तय भएको हो। ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले दिउँसो २ बजेका लागि भेटवार्ताको समय तय भएको नेपाल लाइभलाई जानकारी दिए।
उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री देउवा र सुमार नेतृत्वको टोलीबीच भोलि अपराह्न ४ बजे भेटवार्ता हुने जनाइएको छ। त्यस्तै अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग पनि उनले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।
नेपालमा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न करिब ६० अर्ब रुपैयाँको अनुदान सम्झौता २०७४ भदौमा सम्झौता भएको थियो।
संसदबाट सम्झौता अनुमोदन भएपछि मात्रै कार्यान्वयन गर्नुपर्ने व्यवस्था भएको भएपनि दलहरुबीच सहमति हुन नसक्दा सम्झौता अनुमोदनको लागि संसदीय प्रक्रिया अघि बढ्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।