काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
शनिबार भएको वर्षाले प्रभावित दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई ९ रनले हराउँदै एपिएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो। शुक्रबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई हराउँदै आर्मी फाइनलमा पुगेको हो।
एपिएफ र आर्मीबीचको फाइनल खेल आइतबार टियू मैदान कीर्तिपुरमा हुनेछ।
टियू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको एपिएफले ४८.५ ओभरमा अलआउट हुँदै २ सय ८ रन बनाएको थियो। एपिएफका लागि अनिल साहले ४५, पृथु बाँस्कोटाले ४०, रोहित पौडेलले ३२, प्रदीप ऐरीले २४, सुवास खकुरेलले २१ रन बनाए।
पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ र ललित राजवंशीले २ विकेट हात पारे। आरिफ शेख र सुशील कँडेलले १–१ विकेट लिए।
एपिएफले दिएको २ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा १४.४ ओभरमा २ विकेटको क्षतिमा ५९ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। डेढ घण्टा ढिला गरी पुनः सुरु गरिएको खेल डकवर्थ लुइस नियमअनुसार २८ ओभरमा छोट्याइयो भने पुलिसले १ सय ४१ रनको नयाँ लक्ष्य पायो।
तर, पुलिसले निर्धारित २८ ओभरमा ९ विकेटको क्षतिमा १३१ रनमात्र बनाउन सकेपछि एपिएफको ९ रनको रोमाञ्चक जित हासिल गरेको हो ।
पुलिसका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । सातौं नम्बरमा ब्याटिङमा आएका कुशल भुर्तेलले बनाएको ३० रन पुलिसका ब्याट्सम्यानले बनाएको सर्बाधिक स्कोर हो। पुलिसका लागि ओपनर सुनील धमलाले २४ तथा दिलिप नाथले १६ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले १४, कप्तान मञ्जित श्रेष्ठले ११ तथा सिद्धान्त लोहनीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन्।
बलिङतर्फ एपीएफका अमरसिंह रौटेलाले ३ तथा कप्तान बसन्त रेग्मीले २ तथा कमलसिंह ऐरी तथा करण केसीले १–१ विकेट लिए। अमरसिंह खेलको म्यान अफ द म्याच चुनिए।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भएको प्रतियोगिताको उपाधि विजेताले नगद २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन्। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लब गरी १० टिमको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।