काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता जनतालाई झुक्याएर संसद्बाट अनुमोदन गराउने षड्यन्त्र भएको दाबी गरेका छन्।
अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले बुधबार लिखित जवाफ पठाएपछि रावलले यस्तो टिप्पणी गरेका हुन्।
‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुवै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसद्बाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ यी दुवै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।’
अर्थमन्त्रीलाई सम्बोधन गरेर पठाइएको जवाफमा अनुदान रकम दुरुपयोग नहोस् भनेर सुनिश्चित गर्न सम्झौतामा निश्चित शर्त राखिएको बताइएको छ।
जवाफमा नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्ट (सम्झौता)भन्दा माथि रहेको पनि बताइएको छ।
‘एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबीचका सम्झौता हुन्,’ पत्रमा भनिएको छ,‘हिन्द प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनै पनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग वा स्वतन्त्र रहन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।