काठमाडौं– खाजा खाएको पैसा तिर्ने क्रममा विवाद हुँदा चक्कु प्रहार गरी ग्राहकको 'हत्या गर्ने'लाई काभ्रे प्रहरीले २ दिनपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–७ मा होटल सञ्चालन गर्दै आएका भीमबहादुर थिङका सालो नाता पर्ने काभ्रेको खानीखोला गाउँपालिका–७ का ३१ वर्षीय महेन्द्र घिसिङ छन्।
प्रहरीका अनुसार भदौ २० गते (आइतबार) बेलुकी २०:४५ बजेतिर पनौती नगरपालिका–७ स्थित होटेलमा खाजा खान आएका काभ्रेको पनौती–१० का २७ वर्षीय किसन पहरीमाथि चक्कु प्रहार भएको थियो।
चक्कु प्रहारपछि गम्भीर घाइते भएका पहरीलाई उपचारको लागि धुलीखेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। पहरीको मृत्युपछि प्रहरीले होटल सञ्चालक भीमबहादुर थिङसहित खाजा खान आएका अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा खाजा खाएर बिल तिर्ने बेला भएको विवादका कारण महेन्द्र घिसिङले पहरीमाथि चक्कु प्रहार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
प्रहरीले घिसिङलाई मंगलबार आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका घिसिङविरुद्ध कर्तव्य जानको मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।