काठमाडौं- गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ। गीतमा सङ्गीत र स्वर कन्काइस्ट राईको रहेको छ।
भिडियोमा अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको छ। अभिनेता लामालाई करिब एक दर्जनभन्दा बढी कलाकारले साथ दिएका छन्।
सहास शाक्यको सङ्गीत संयोजन रहेको यस गीतमा करण चौरसियाको छायाङ्कन रहेको छ। भिडियो सम्पादन मनोज कार्कीले गरेका छन्। भिडियोको निर्देशन प्रदीप हमालले गरेका हुन्।
देशप्रति असिम प्रभाव र सीमाको रक्षाका लागि सहास र बलिदानको भाव भूमिमा रचिएको नेपाल आमा साँच्चिकै उच्च कोटीको राष्ट्रिय गीत भएको बताइएको छ। देशको पछिल्लो अवस्थाका कारण यो गीतले निकै नै दर्शकको माया पाउने विश्वास गरिएको छ।
गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरीसहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन्।
नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भए पनि अर्को हातमा कलम बोकेर सिर्जना गरिरहेका छन्।
चन्द्र सूर्य अङ्कित निशान
मेरो देशको ज्युँदो पहिचान…
गीतको हरफमा भनेजस्तै साँच्चिकै देशको मायालाई उजागर गरेको छ। गीतमा देशको माया र स्नेह हिमाल, पहाड र तराई जहाँको व्यक्तिलाई पनि सम्मान हुने कुरा प्रस्तुत गरिएको छ। जुनसुकै ठाउँमा गएको भए पनि आफ्नो देशको मायालाई कसैले पनि भुल्न नसक्ने प्रस्ट्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।