बुटवल– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले सभामुख अग्निप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्न चेतावनी दिएका छन्।
आफ्नो दलले कारबाही गरी निस्काशन गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दुरुपयोग गरेको पौडेलले आरोप लगाए।
बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले नेकपा एमाले फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको भन्दै आक्रोश व्यक्त गरे।
दलको ह्वीप उलंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरुलाई कुन संविधान, कानुन र नियमावलीको आधारमा संरक्षण दिएको ? भन्दै पौडेलले सभामुख सापकोटालाई प्रश्न समेत गरे।
'नेकपा एमालेको संसदीय दलमा अनुशासन उल्लंघन गरेका, पार्टीको ह्वीप उल्लंघन गरेका सदस्यहरुलाई, आफ्नो दलका नेतालाई विश्वासको मत नदिएकाहरुलाई स्पष्टीकरण सोधेर कारबाही गरेको त्यो निर्णयलाई लागू नगर्ने अधिकार सभामुखलाई छैन,' पौडेलले भने, 'यसरी पदको दुरुपयोग गरेर नेकपा (एमाले)लाई विभाजनमा ल्याउने काम पदको दूरुपयोग गरेर जुन खालको क्रियाकलाप भएका छन्। सभामुखले एउटा पार्टीको कार्यकर्ताको हैसियतमा प्रस्तुत हुने यो हर्कत तत्काल बन्द हुनुपर्छ। यो कुनै पनि मानेमा मान्य हुन सक्दैन।’
पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि ल्याउन नसक्ने दाबी गरे।
पौडेलले अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता औपचारिक ढंगले संसदमा पेश भएपछि त्यसबारे आफ्नो पार्टीले धारणा तय गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।