काठमाडौं- नेकपा (एमाले)का सांसद खगराज अधिकारीले सभामुखले आफूहरुलाई आश्वास्त नपारेसम्म संसद् बैठक सञ्चालन हुन नदिने बताएका छन्।
बुधबार संसद् बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
‘सभामुखले हामीलाई आश्वास्त नपारेसम्म संसद् बैठक चल्दैन,’ उनले भने, ‘हामीले आफ्नो धारणा प्रस्ट पारेका छौं।’
बुधबारको बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी गरेर अवरुद्ध पारेका थिए। सुरुमा १५ मिनेटको लागि स्थगित गरेर पुन: सुरु भएको बैठकमा पनि अवरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले दोस्रोपटक १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
त्यसपछि सुरु भएको बैठकमा एमाले सांसदहरुको अवरोधकै बीच गृहमन्त्री बालकृष्ण खाणले विभिन्न अध्यादेश संसद्मा टेबुल गरेका थिए। बैठक भदौ २५ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।