काठमाडौं- नेकपा (एमाले)ले एकीकृत समाजवादीका सांसदहरुको उपस्थितिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभालाई अवरोध गरेको छ। बुधबारको दोस्रो बैठकमा पनि एमालेले बेल घेराउ गरिरहेको छ।
साउन २५ गते नै आफूले एमालेका १४ सांसदलाई कारबाही गरेको तर, सभामुखले सूचना टाँस नगरिँदा उनीहरुले पार्टी विभाजन गरेकोमा एमाले आक्रोशित छ। ती सांसदलाई 'गैरसांसद' करार गरेको उसले उनीहरुलाई सदनबाट निकाल्न नाराबाजी गरिरहेको छ।
'पक्षपातपूर्ण व्यवहार मुर्दावाद', 'गैरसांसद्लाई संसद्मा राख्न पाइँदैन', 'संविधान मिच्न पाइँदैन', 'पार्टी फुटाउने षडयन्त्र मुर्दावाद', 'संवैधानिक सर्वोच्चता कायम गर' जस्ता नाराबाजी गरिरहेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले भने एमालेको माग दर्ज भइरहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेका छन्। एमालेका सांसद्हरुले भने सभामुखको आग्रहलाई बेवास्ता गर्दै नाराबाजी गरिरहेका हुन्।
एमालेको आजै बसेको संसदीय दलको बैठकमै एकीकृत समाजवादी पार्टीका सांसद्हरु समेतको सदनलाई अवरोध गर्ने निष्कर्ष निकालेको थियो। 'यदि गैर सांसद्को उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानुनी ढंगले सदन प्रारम्भै हुन दिँदैनौं। त्यसको प्रक्रिया अगाडि बढ्दै दिँदैनौं', बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।