काठमाडौं– प्रतिनिधि सभाको बुधबारको बैठकलाई एमालेका सांसदहरुले अवरोध गरे। एमाले विभाजनका सन्दर्भमा सभामुखको 'भूमिका'प्रति असन्तुष्ट सो पार्टीका तर्फबाट प्रमुख सचेतक विशाल भट्टराईले बुधबार बैठकको सुरुमै धारणा राखेका थिए।
भट्टराईले मूलतः सभामुख एमाले विभाजनको मतियार भएको आरोप लगाए। त्यसपछि उनले आफूहरुले सभामुखबाट जवाफ खोजेको बताएका थिए। उनले बोलिसक्ने बित्तिकै सभामुख अग्निप्रसाद सापकोटाले स्पष्टीकरण शैलीमा जवाफ दिएका थिए। उनले प्रचलित कानुनका आधारमा आफूले भूमिका निभाएको बताएका थिए।
तर, बैठक अवरोध गर्ने पूर्व योजनाका साथ सदन बैठकमा पुगेका एमालेका सांसद्हरु बेल घेर्न अघि सरे। त्यसपछि सभामुखको मर्यादालाई बेवास्ता गर्दै 'मुर्दावाद'का नारा लगाउन थाले।
त्यसैक्रममा सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१ को खण्ड (ग) र (घ) को स्मरण गराए। नियमावली सम्झाउँदै गर्दा उनी केही आक्रोशित सुनिन्थे।
के छ नियम २१ को खण्ड 'ग' र 'घ' मा?
प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड (ग) मा 'सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने' उल्लेख छ। यस नियमलाई अघि सारेर सभामुख सापकोटाले आफ्नो भूमिकाको आलोचना नियमसंगत छैन भन्ने स्थापित गर्न चाहेको देखिन्छ।

उनले नियम २१ कै खण्ड (घ) पनि सम्झाएका थिए। सो नियममा 'संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने' उल्लेख छ। संविधानको धारा १०५ मा ' नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन। तर महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पुर्याएको मानिने छैन' भन्ने उल्लेख छ।

पछिल्लो पटक एमाले विभाजनसँग जोडिएका निर्वाचन आयोग र सभामुखका विरुद्ध एमालेका तर्फबाट सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ। त्यसमाथि सर्वोच्चमा सुनुवाइ जारी छ। सभामुखले अदालतमा विचराधीन मुद्दाका सन्दर्भमा एमालेले सदनमा कुरा उठाउनु उचित नभएको स्मरण गराउन खोजेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।