काठमाडौं- प्रतिनिधि सभाको नवौं अधिवेशन सुरु भएसँगै प्रमुख प्रतिपक्ष एमालेले अवरोध गरेको छ। सभामुखको भूमिका र दल विभाजनको कार्य गलत भएको भन्दै एमालेले प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै उठेर विरोध सुरु गरेको थियो।
एमालेका सांसदहरु उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिएका थिए। भट्टराईले सभामुखले एमाले विभाजनमा भूमिका खेलेको भनी जवाफ माग गरे। उनले बोलेलगत्तै एमाले सांसदहरु बेल घेर्न अगाडि बढे।
मर्यादापालकहरुले रोकेपछि एमाले सांसद खगराज अधिकारीले नारा लगाउन सुरु गरे। उनले संसद्को मर्यादा कायम गर, सभामुख मुर्दावाद भन्दै नारा लगाए।
एमालेले नारा लगाउँदै गर्दा सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक भट्टराईले उठाएको प्रश्नमा जवाफ दिन सुरु गरे। उनले एमालेबाट विभाजित भएको एकीकृत समाजवादी दलको वैधानिकताको विषय सर्वोच्च अदालतमा विचाराधीन भएको र संसद्को कुनै पनि सदनमा उक्त विषयमा छलफल हुन नसक्ने बताए। सभामुखले उक्त कुरा भनिराख्दा एमाले सांसदहरु नारा लगाइरहेका थिए।
उनले संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा छलफल गर्न बन्देज गरेको भन्दै प्रतिनिधि सभा नियमावलीको नियम २१ को व्यवस्था ध्यानार्कष गराए। तर, एमाले सांसदहरुले उक्त कुरा सुनेनन्।
एमालेले सभामुखविरुद्ध समेत नाराबाजी गरेपछि उनले प्रतिनिधि सभाको नियम २१ को ख र घ अध्ययन गर्न ध्यानाकर्षण गराए।तर, एमाले सांसदहरुले सभामुखविरुद्ध नारा लगाउन छोडेनन्।
सभामुख सापकोटाले उनीहरुलाई संसद् र कानुनको सम्मान गर्न माग गरे। संसद्को अभ्यास बाहिर नजान उनले आग्रह गरे। तर, एमालेको अवरोध कामयै रहेपछि बैठक १५ मिनेटका लागि स्थगित गरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।