काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दल विभाजनका लागि सभामुख किन मतियार भएको भन्दै प्रश्न गरेका छन्।
बुधबार प्रतिनिधि सभाको नवौं अधिवेशन अन्तर्गतको पहिलो बैठकको सुरुवातमै आपत्ति जनाउँदै एमाले प्रमुख सचेतक भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाबाट जवाफ नआएसम्म संसद बैठक चल्न नदिने प्रष्ट पारे।
‘भदौं १ गते हाम्रो दलको अनुशासन उल्लघन गर्ने १४ जनालाई कारबाही गरि पाउँ भनेर हामीले निवेदन दिएका थियौं। हामीले कारबाही गरेको सूचना भदौं २ गते, ३ गते प्रकाशन गर्न हामीले आग्रह गर्यौं। तपाईंले माओवादी केन्द्र र जसपाका सांसदलाई कारबाही गरेको सूचना टाँस्नुभयो,’ उनले भने, ‘एमालेको हकमा किन तपाईंले फरक व्यवहार देखाउनुभयो?’
'सभामुखको मर्यादामा बसेको मानिसले समान व्यवहार गर्नु पर्छ कि पर्दैन' उनले प्रश्न गरे ।
‘कारबाही गरेका सांसदबारे सूचना किन सार्वजनिक गर्नुभएन। १३ दिनपछि नियोजित रुपमा एमाले टुक्रयाइसकेपछि यो काम गर्नुभएको छ। हाम्रो बीचमा अनुत्तरीत प्रश्न छ । नेकपा एमाले कारबाही गरेका सांसदलाई कारबाही गर्न र एमाले टुक्रयाउन किन सारथी हुनुभयो। दल विभाजनका लागि किन तपाईं मतियार हुनुभयो,’ उनले प्रश्न गर्दै भने,‘ यसको जवाफ चाहिएको छ।
संविधान,नियम, कानून उल्लंघन गरेर एमाले टुक्रयाउने काम भएको उनले बताए। सभामुखको आशनबाट आफूहरुले जवाफ खोजिरहेको उनले बताए।
'सभामुखको आशनबाट, निर्वाचन आयोगसँग हामीले जवाफ खोजिरहेका छौं । नेकपा एमाले चुप लागेर बस्ने कुरा हुँदैन’ उनले भने। उनले आफूहरुले स्पष्ट जवाफ नपाएसम्म संसदको बैठक अघि बढन नदिने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।