काठमाडौं- नेकपा एमालेले प्रतिनिधि सभाको बुधबारको बैठक अवरोध गरेको छ। बैठकको सुरुमै समय लिएर बोलेका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो दलले निष्कासन गरेका १४ सांसद्लाई पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका थिए।
भट्टराईले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएका थिए। उनले सभामुखबाट जवाफ खोजेको बताएका थिए।
त्यसपछि सभामुखले आफूले नियम र कानुन अनुसार भूमिका खेलेको बताएका थिए। सभामुखको जवाफ नसकिँदै एमाले सांसद्हरुले बेल घेर्न पुगेका थिए।
आक्रोशित एमाले सांसद्हरुले सभामुखप्रति नाराबाजी पनि गरेका थिए। उनीहरुले 'विधिको शासन कायम गर', 'सभामुख मुर्दावाद' जस्ता नारा लगाएका थिए।
एमाले सांसदहरुको नाराबाजीपछि बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ।
एमाले सांसद्हरुले 'सभामुखको आसनमा एमाले फुटाउने षडयन्त्र गर्न पाइँदैन, सभामुखको व्यवहार मुर्दावाद, सभामुख मुर्दावाद, संसद्को सर्वोच्चता कायम गर' जस्ता नारा लगाएका थिए। त्यसपछि आक्रोशित भएका सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड ग र घ आकर्षित गर्न चाहेका थिए।
प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड ग मा 'सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने' उल्लेख छ। त्यस्तै, नियम घ मा 'संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने' उल्लेख छ।
संविधानको धारा १०५ मा ' नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन। तर महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पुर्यााएको मानिने छैन' भन्ने उल्लेख छ।
दल विभाजन सम्बन्धी पछिल्लो प्रकरणका विरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनमाथि सुनुवाइ जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।