काठमाडौं– प्रतिनिधि सभाको नवौं अधिवेशन सुरु भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आह्वानअनुसार बुधबार अपराह्नदेखि संघीय संसद्को प्रतिनिधि सभाको अधिवेशन सुरु भएको हो। राष्ट्रपतिको आह्वान अनुसार राष्ट्रिय सभाको अधिवेशन समेत सुरु भएको छ।
सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसपटक संघीय संसद्मा नेकपा(एमाले) विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिएका छन्।
संसद्मा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाएको छ।
सबै दलका नेताहरु अगाडि रहनेगरी र अन्य सदस्यहरु क्रमशः पछाडि रहनेगरी दूरी कायम गरेर सिटको व्यवस्थापना मिलाइएको संघीय संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले बताए।
सत्तापक्षतर्फ बीचबाट ठूलो दल र क्रमशः सदस्य संख्याको आधारमा साना दल रहने उनले उल्लेख गरे। यसो गर्दा सत्ता पक्षतर्फ दायाँ तर्फबाट क्रमशः नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने छन्। त्यसैगरी प्रतिपक्षतर्फ भने क्रमशः नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी सिटको व्यवस्थापन मिलाइएको छ।
स्वतन्त्र सांसद लगायत साना दलका सांसदहरुलाई भने बीचमा सिटको व्यवस्थापन गरिएको छ। त्यसैगरी राष्ट्रिय सभातर्फ भने राष्ट्रिय सभा अध्यक्षको दायाँतर्फ सत्तापक्ष र बाँयातर्फ प्रतिपक्ष रहनेगरी व्यवस्था मिलाइएको छ। सत्तापक्षतर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने छन् भने प्रतिपक्षतर्फ नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी व्यवस्था मिलाइएको छ।
मनोनीत सांसदहरु सदाझैँ मन्त्री रहने सिटभन्दा पछाडि रहने र स्वतन्त्र सांसद प्रमुख प्रतिपक्षीको दायातर्फ, सत्तापक्ष नेकपा (एकीकृत समाजवादी) भन्दा ठीक पछाडि रहने गरी व्यवस्थापन गरिएको छ।
बुधबारको बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुने कार्यसूची छ। त्यसको अलावा शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ।
संसद्को यस अधिवेशनमा संसद्मा पेस भइसकेका १३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको पनि संसद् सचिवालयले जनाएको छ। सदनको आठौं अधिवेशन गत साउन ३२ गते अन्त्य भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।