काठमाडौं– एकै परिवारका ६ जनाको हत्या भएको संखुवासभाको मादी नगरपालिका–१ को खोला गाउँस्थित घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख (डीआईजी)सहितको टोली पनि गएको छ।
बुधबार बिहान प्रदेश १ का डीआईजी अरुणकुमार बिसी र एक जना डिएसपीसहितको टोली घटनास्थल प्रस्थान गरेको प्रदेश १ का प्रवक्ता नविनराज राईले बताए।
यसअघि घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), संघीय प्रहरी कार्यालय धरानको टोली, जिल्लाबाट डिएसपीसहितको टोली घटनास्थल पुगिसकेका छन्।
सीआईबीबाट डिएसपी रुगम कुँवरको नेतृत्वको तीन सदस्यीय टोली, संघीय प्रहरी कार्यालयबाट एसपी भीम दाहालको टोली, प्रदेश १ प्रहरी कार्यालय बाटै इन्सपेक्टर बबिन्द्र नेम्वाङको टोली र जिल्ला प्रहरी कार्यालयबाट लालध्वज सुवेदीसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन्।
सोमबार बिहान पौन १० बजेतिर स्थानीयले बारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा १ वटा शव घरमा, एक वटा सडकमा, २ वटा बारीको कान्लामा र २ वटा खोल्सामा भेटिएको थिए।
मृत फेला पर्नेहरुमा ८४ वर्षीया पार्वती कार्की, उनका ५२ वर्षीय छोरा तेज बहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेका छन्।
उक्त घटनामा ९० वर्षीय बौद्धमान कार्की भने सकुशल रहेका थिए। आँखा कम देख्ने र कान पनि कम सुन्ने उनलाई घटनाबारे भने केही जानकारी नभएको पाइएको छ।
६ वटै शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। शवको बुधबार पोस्टमार्टम भइसक्ने र परिवारको जिम्मा लगाइने प्रवक्ता राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।