काठमाडाैं– नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप २०२२ मा छनोटका लागि घोषित २३ जना खेलाडी नै बलिया रहेको बताएका छन्।
बंगलादेशविरुद्धका दुई मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मलेनमा उनले टोलीमा अनुभवीका साथै ७ नयाँ युवा खेलाडीको समिश्रण रहेकाले सबै खेलाडी बलिया रहेको बताएका हुन्।
यद्यपि, ‘गोल मेसिन’ भनेर चिनिने फरवार्ड सावित्रा भण्डारीको अनुपस्थितिले टोलीलाई घाटा पुग्ने उनले बताए। ‘नेपाली टोली सावित्रामा निर्भर हुने गरेको थियो। उनी टोलीमा नहुनु एकदमै ठूला घाटा हो,’ उनले भने।
तर, उत्कृष्ट प्रदर्शन गरेर सावित्राको स्थान लिने अर्को खेलाडीलाई उत्कृष्ट मौका रहेका पनि उनले बताए। ‘सावित्राको स्थान कसले लिन्छ भन्नेमा सम्पूर्ण देशको चासो हुन्छ। त्यसले खेलाडीलाई मानसिक दबाब पनि हुनेछ,’ उनले भने।
करिब तीन सातादेखि बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट अन्तिम २३ खेलाडी छनोट गरिएको छ। यसपटक प्रिती राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला बिक र निशा थोकर गरी ७ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
राष्ट्रिय लिगमा लागेको चोटका कारण सावित्रा सात वर्षयता पहिलोपल्ट टिमबाट बाहिर छिन्। त्यसैले यसपालि नयाँ खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर छ।
प्रशिक्षक फिलिप्सले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय फुटबल खेल्नु विश्वभर नै चुनौतीपूर्ण रहेका बेला नेपालले खेल्न पाउनु राम्रो अवसर रहेको पनि बताए।
‘कोरोना भाइरस तथा चोटका कारण तयारी प्रभावित भए पनि मैत्रीपूर्ण खेल र छनोटका लागि नेपाल तयार छ।बंगलादेशसँगको खेलले हामीलाई धेरै फाइदा हुनेछ,’ उनले भने।
यता, बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक गोलाम रोबानी चोटोनले सावित्रा भण्डारी अनुपस्थितिले नेपाली टोलीसँग खेल्दा डिफेन्डरलाई दबाब महसुस नहुने बताए।
‘सावित्रा भण्डारी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्। उनी भोलिको खेलमा नहुनु दुःखद् कुरा हो। तर, हाम्रा डिफेन्डरलाई नेपाली टोलीमा सावित्रा नहुँदा कम दबाब महसुस हुनेछ,’ उनले भने।
उनले फिफा डेटको उपयोग गर्दै मैत्रीपूणै खेल आयोजना गर्न लागेकोमा नेपालाई धन्यवादसमेत दिए। ‘कोरोना भाइरसका कारण विभिन्न रेस्ट्रिकसनका वावजुद पनि फुटबल आयोजना गर्न लागेकोमा धन्यवाद। लामो समयपछि खेल्न पाउँदा खेलाडी खुशी छन्। त्यसका लागि पनि तयारी गरिरहेका छन्। छनोट खेल्न र छनोट हुनका लागि तयार छन्,’ उनले भने।
नेपाली महिला टोलीले १० दिनपछि एएफसी छनोट उज्वेकिस्तानमा खेल्दैछ। नेपाली टिम प्रतियोगितामा समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। नेपालले २ असोजमा फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ।
यस्तै, नेपालले दोस्रो खेलमा ५ असोजमा हङकङको सामना गर्नेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।