काठमाडाैं– विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटमा नेदरल्यान्ड्सले टर्कीमाथि सानदार जित निकालेको छ। घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टर्डममा मंगलबार राति सम्पन्न खेलमा डच टोलीले १० खेलाडीमा समेटिएको टर्कीमाथि फराकिलो जित निकालेको हो।
बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले ह्याट्रिकसहित एक गोलको लागि असिस्ट दिएपछि नेदरल्यान्ड्सले ६–१को जित निकालेको हो। नेदरल्यान्ड्सका लागि डेभी क्लासेन, गुस टिल र डोनेल मालेनले समान एक/एक गोल गर्दा सेन्गुइज अन्डरले एक गोल फर्काए।
खेलको पहिलो मिनेटमा नै डेभी क्लासेनले मेम्फिस डिपाएको पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए। १६औं मिनेटमा डेभी क्लासेनको पासमा मेम्फिस डिपाएले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ३८औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गर्दा नेदरल्यान्ड्स पहिलो हाफमा ३–० को स्थितिमा पुग्यो।
खेलको ४४ औं मिनेटमा काग्लर सोयुन्कु दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टर्की पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो।
खेलको ५४औं मिनेटमा मेम्फिस डिपाएले स्टेभन वर्ग हइसको पासमा ह्याट्रिक पुरा गरका थिए। ८०औं मिनेटमा सब्सिच्युट गुस टिलले गोल गर्दै खेललाई ५–० को अवस्थामा ल्याए। ९०औं मिनेटा डोनेल मालेनले गोल गर्दै डच टोलीको जित पक्का गरे।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सेन्गुइज अन्डरले गोल गर्दै खेललाई ६–१ को अवस्थामा ल्याएका थिए।
जितसँगै समूह ‘जी’ मा नेदरल्यान्ड्स ६ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान १३ अंक नै रहे पनि गोलअन्तरमा नर्वे दोस्रो स्थानमा छ। पराजित टर्की ११ अंकका साथ तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।