काठमाडौं- सोमबार उच्च अंकले उक्लिएको पुँजीबजार आज पुन: नकारात्मक बनेको छ। सोमबार पुँजीबजार मापक परिसूचक नेप्सेमा १६२ अंकको उछाल आएको थियो। तर, आज (मंगलबार) नेप्से ४४.१८ अंकले घटेर २९३६.६१ विन्दुमा ओर्लिएको छ।
पुँजीबजारमा लगातार उच्च अंकको गिरावट आउन थालेपछि सोमबार अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरेर पुँजीबजारको समस्या समाधान गर्द आग्रह गरेका थिए। अर्थमन्त्रीको उक्त फोनपछि बजारमा उछाल आएको थियो। तर, एक दिनपछि नै नेप्से पुन: दोहोरो अंकले घटेको छ।
आज कारोबार पनि सात अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँमा खुम्चिएको नेप्सेले जनाएको छ। कूल २२२ वटा कम्पनीका एक करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर ८६ हजार ५०८ पटक खरिद-बिक्री भएका थिए।
कारोबार भएकामध्ये २६ वटा कम्पनीको मात्र सेयर मूल्य बढेका छन् भने १५९ कम्पनीको मूल्यमा गिरावट आएको छ।
ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.०५ अंकले घटेर ५४८.३६ विन्दुमा ओर्लिएको छ।
आज सानीमा लाइफ इन्स्योरेन्सको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ७.७३ प्रतिशतका दरले गुमाएका छन्।
आज युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सेयर सबैभन्दा धेरै ६१ करोड ९२ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा सोही कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको सबैभन्दा धेरै १० लाख ३९ हजार ६०१ कित्ता सेयर सबैभन्दा धेरै चार हजार ९८ पटक किनबेच भएका थिए।
म्युचुअल फण्ड र अन्यबाहेक सबै उपसमूहका परिसूचक आज नकारात्मक बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।