काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)गठन गरेका छन्। निर्वाचन आयोगले गत भदौ ९ गते वैधानिक रुपमा दल दर्ताको मान्यता दिएपछि भदौ २२ गते (आज बेलुका) सम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको छ।
पार्टी विभाजन भएपछि उपेन्द्र यादव नेतृत्वको जसपा र ठाकुर नेतृत्वको लोसपाले प्रदेश सभा सांसद र स्थानीय तहका प्रमुख/ उपप्रमुख तानातान गर्न थालेका छन्। पार्टी विभाजन भएपछि संघदेखि प्रदेश र स्थानीय तहमा जसपा बलियो देखिएको छ।
संघमा ३४ जना सांसदमध्ये २ जना निवम्बित भएकाले ३२ जना सांसद मात्रै छन्। त्यसमध्ये उपेन्द्रको पक्षमा १८ जना र लोकतन्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना मात्रै खुलेका थिए। राष्ट्रिय सभामा तीन जनामध्ये दुई जना उपेन्द्रपक्षमा खुलेका थिए।
यस्तै, सबैभन्दा धेरै जनाधार मानिएको प्रदेश २ मा ५५ जना सांसद भएपनि आफ्नो पक्षमा १७ जना मात्रै खुलेको प्रदेश लोसपाका प्रदेश सांसद जितेन्द्र सोनलले दाबी गरे। अझै दल रोज्ने समय मंगलबार बेलुकासम्मको समय भएकाले प्रदेश सभा सदस्य बढ्न सक्ने उनले बताए।
तर, उपेन्द्र पक्षका एक नेताले आफ्नो पक्षमा ४० जना खुलेको दाबी गरेका छन्। तत्कालीन राजपाबाट २५ जना निवार्चित भएका थिए। त्यसमध्ये ९ जना उपेन्द्रतिर खुलिसकेका छन्। त्यो संख्या मंगलबार मात्रै स्थिर हुने भएको छ। यस्तै, तत्कालीन संघीय समाजवादी फोरमबाट ३० जना निर्वाचित भएका थिए। त्यो संख्या बढेर करिब ४० जना पुग्न सक्ने जसपाको आकलन छ।
प्रदेशमा जसपा बलियो
प्रदेश १ मा तत्कालीन संघीय समाजवादी फोरमबाट ३ जना निर्वाचित भएका थिए। तीनैजना जसपामै रहने निर्णय गरेका छन्। यस्तै, बागमती प्रदेशमा रसुवाबाट प्रेम तामाङ तत्कालीन नयाँ शक्तिबाट निर्वाचित भएका थिए। उनी प्रावधिक रुपमा जसपामै भएपनि कांग्रेस प्रवेश गरिसकेका छन्।
गण्डकी प्रदेशमा २ जना तत्कालीन नयाँ शक्तिबाट निर्वाचित भएका थिए। उनीहरूले जसपामै बस्ने निर्णय गरिसकेका छन्। लुम्बिनी प्रदेशमा तत्कालीन फोरमबाट ४ जना २ जना राजपाबाट निर्वाचित भएका थिए। पार्टी ह्वीप उल्लंघन गरेको भन्दै ३ जनालाई कारबाही भएपछि ३ जना सांसद मात्रै छन्।
तीनै जना जसपामा बस्ने निर्णय गरेका छन्। कर्णाली प्रदेशमा जसपा शून्य छ। सुदूरपश्चिममा प्रदेश सभामा राजपाबाट एक र फोरमबाट एकगरी दुई जना निर्वाचित भएका थिए। दुईमध्ये कृष्णबहादुर चाैधरी लोसपा र मालमति कुमारी राना जसपामा लागेका छन्। चाैधरी प्रत्यक्ष र राना समानुपातिक निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।