कोरोना संक्रमणको ग्राफ ओरालो लागिनसक्दै र विज्ञहरुले संक्रमणको खतरनाक तेस्रो लहर आउने चेतावनी दिइरहेकै बेला काठमाडौं उपत्यकाका विद्यालयहरु खुलाउने तयारी गरिएको छ। यसअघि नै केही स्थानीय तहमा फाट्टफुट्ट विद्यालय सञ्चालन हुनथालेका बेला सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको काठमाडौंभित्र रहेका स्थानीय तहका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधि, शिक्षा कार्यालय समन्वय इकाइका प्रमुख तथा सुरक्षा निकायक प्रमुखहरू सहभागी बैठकले भौतिक उपस्थितिमै पठनपाठन हुनेगरी विद्यालय खोल्ने निष्कर्ष निकालेको हो। यो निष्कर्षअनुसार आउँदो असोज १ गतेदेखि विद्यालयहरु खुल्ने छन्।
काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्यामा केही तलमाथि भइरहेको भए पनि मूलतः यो नियन्त्रित अवस्थामा छैन। अहिले पनि यसबाट सिर्जित त्रास र जोखिम उस्तै छ। झण्डै डेढ वर्षदेखि आफ्ना सन्तानको पठनपाठन अस्तव्यस्त बनेको देखेका अभिभावक यही जोखिमका कारण सन्तानलाई विद्यालय पठाउन मानसिक रुपमा तयार भइसकेका छैनन्। यस्तो अवस्थामा विद्यालय खोल्ने संस्थागत निर्णय भएसँगै विद्यालय जाने उमेरका बालबालिकाको जीवन र स्वास्थ्यलाई लिएर गम्भीर चिन्ता प्रकट भइरहेको छ।
केही समयअघि कक्षा १२ को वार्षिक परीक्षा सुरु गर्ने तयारी भएपछि यसैगरी विद्यार्थीको सुरक्षालाई लिएर चिन्ता प्रकट भएको थियो। परीक्षा स्थगन गर्नुपर्ने तीब्र दबाबपछि अन्ततः सरकारले निर्धारित परीक्षा स्थगन गरेको थियो। र, परीक्षामा सामेल हुनेलाई पहिले कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाइएको थियो। तर, विद्यालय उमेरका बालबालिकाहरुलाई अहिलेसम्म खोप लगाउने व्यवस्था भएको छैन। यो उमेरका बालबालिकालाई खोप लगाउने कि नलगाउने भन्ने टुंगो नै लागेको छैन। कतिपय मुलुकले १२ वर्षमाथिका बालबालिकालाई खोप लगाउन सुरु गरे पनि नेपाल त्यो टुंगोमा पुगिसकेको छैन। यसैपनि भद्रगोल सञ्चालन भइरहेका विद्यालयमा संक्रमणबाट जोगिने सुरक्षाका अन्य भरपर्दा उपाय अवलम्बन गरिने सम्भावना पनि देखिँदैन। यस्तो अवस्थामा भौतिक रुपमै विद्यालय सञ्चालनको तयारी लाखौं बालबालिकाको जीवनमाथि खेलवाड बन्ने जोखिम बन्न सक्छ।


अहिले कोभिड संक्रमणबाट जोगिन सघाउ पुग्ने भनिएका केही सीमित उपायहरुको मात्र चर्चा हुन्छ– भौतिक दुरी कायम गर्ने, साबुन पानीले नियमित हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र अन्ततः कोरोनाविरुद्धको खाप लगाउने। मूलतः विद्यालयमा भौतिक दुरी कायम गर्न असम्भवप्रायः छ। एक त हाम्रा विद्यालयहरुको भौतिक पूर्वाधार र व्यवस्थापन नै यस्तो छ कि त्यहाँ भौतिक दूरी कायम गर्न सम्भव नै छैन। त्यसमाथि विद्यालय जाने उमेरका बालबालिकाको स्वभाव भौतिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड हुबहु पालना गर्नेखालको हुँदैन। साबुन पानी तथा स्यानिटाइजरको नियमित प्रयोग पनि विद्यालय हाताभित्र सुरक्षाको भरपर्दो विकल्प होइन। भरपर्दो सुरक्षा मानिने खोपको त कुरै भएन। यो सब जान्दाजान्दै पनि भौतिक रुपमै पठनपाठन सञ्चालनका लागि विद्यालय खोल्न गरिएको हतारोको कारण के हो? अति नै जोखिमपूर्ण बन्न सक्ने यस्तो कदम चाल्नुअघि सरकार, उसका संयन्त्र र स्थानीय सरकारहरुदेखि सरोकारवालाले यसको औचित्य प्रष्ट्याउनुपर्छ र बालबालिकाको सुरक्षालाई पहिलो सर्त मानेर यसका निम्ति आमस्वीकार्यता तयार पार्नुपर्छ।
हो, लामो समयदेखि विद्यालय बन्द हुँदा त्यसको ठूलो असर बालबालिकाको शिक्षा र सिकाइमा परेको छ। कतिपय विद्यालयहरुले यसबीचमा अनलाइन तथा भर्चुअल पठनपाठनलाई निरन्तरता दिए पनि त्यसले नियमित पठनपाठनको मर्म बोक्न कठिन छ। कोभिड संक्रमणको विस्तारसँगै सुरु भएको पठनपाठनको नयाँ अभ्यास खासै प्रभावकारी हुन सकेको छैन। किनकि, शिक्षणका लागि हाम्रा विद्यालयहरु जुन किसिमको शैलीसँग अभ्यस्त थिए, शिक्षकदेखि विद्यार्थीसम्मले जुन खाले प्रक्रियामा सहजता महसुस गर्दै आएका थिए, ती हठात् रोकिए। प्रविधिमार्फत् अहिले भइरहेका सिकाइका प्रयत्न हाम्रा स्वाभाविक विकासक्रम नभएर बाध्यताका विकल्प थिए। त्यसैले यसमा अनेक कठिनाइ छन्। जसमाथि विगत डेढ वर्षमा पर्याप्त छलफल भइसकेका, भइरहेका छन्। त्यसमाथि कैयौं विद्यालयको पूर्वाधार र विद्यार्थीको आर्थिक अवस्था अनलाइन तथा भर्चुअल पठनपाठनलाई धान्नसक्ने खालको छैन। यसको असर उनीहरुको शिक्षा र सिकाईमा परेकै छ, बालबालिकाको खेल्दै, चल्दै, छलफल गर्दै, आत्मियता साट्दै सिक्ने स्वभावमा पनि अवरोध उत्पन्न भएको छ।
यी र यस्ता समस्याका कारण पनि विद्यार्थीलाई विद्यालयको भौतिक संरचनामै पठनपाठन गराउनुपर्ने भएको छ। तर, त्यसका लागि हतारिनुअघि उनीहरुको सुरक्षाको प्रबन्ध पहिलो सर्त हो। सबभन्दा पहिले त उनीहरुलाई सम्भावित कोभिड संक्रमणको जोखिमबाट मुक्त गर्नैपर्छ। त्यसका लागि हाम्रा विद्यालयहरुका जस्ता संरचना छन्, तिनमा भौतिक दूरी कायम गरेर पठनपाठन कसरी हुनसक्छ? विद्यालय सञ्चालन र व्यवस्थापनको शैलीले त्यसलाई कसरी सम्बोधन गर्न सक्छ? बालबालिकाका स्वभावजन्य कुराहरुलाई व्यवस्थापन गर्ने उपाय के छन्? विद्यालय खोल्न हतार गर्नुअघि यी प्रश्नको स्वीकार्य जवाफ अपेक्षित छ, तिनको कार्यान्वयनमा समेत ढुक्क हुनेगरी। जनस्वास्थ्यको पर्वाह नगरी लहडका भरमा विवादास्पद निर्णय गर्ने सरकारको विगतले पनि धेरैलाई झस्काएको छ।
बालबालिका स्वयंको स्वास्थ्य र सुरक्षाको विषय त यो हुँदै हो। किनभने कोरोना संक्रमणको तेस्रो लहरको सबभन्दा ठूलो जोखिममा बालबालिका रहेको तथ्य प्रमाणित भइसकेको छ। तेस्रो लहर आउन सक्ने जोखिम देख्दादेख्दै र यो तथ्य जान्दाजान्दै देखाइएको हतारो आपत्तिजनक छ। किनभने यसबाट विद्यालय नै संक्रमणको नयाँ ‘रेड जोन’ बन्ने र विस्तारै परिवार हुँदै समुदायमा संक्रमण फैलिने जोखिमलाई पनि यसले ह्वात्तै बढाइदिन सक्छ। हामीले लिने निर्णयहरु यिनै चिन्ता र तथ्यको कडीमा हुनुपर्छ, न कि अरु कुनै लहडमा। सरकार, उसका संयन्त्र र स्थानीय सरकारहरुले अभिभावक, अन्य सरोकारवाला, विज्ञ लगायतसँग पर्याप्त छलफल गरेर, सुरक्षाका उपाय सुनिश्चित गरेर मात्र विद्यालय खोल्ने निर्णय लिनुपर्छ। अहिले यो भन्दा अर्को विकल्प छैन। जानाजान हाम्रा बालबालिकालाई कोरोना संक्रमणको भुंग्रोमा हाल्ने प्रयत्न अस्वीकार्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।