काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार साफ च्याम्पियनसिपको तयारीका लागि उनी आज सोमबार कतार प्रस्थान गरेका हुन्।
नेपाली टोलीका सदस्यहरु २५ भदौमा दोहा प्रस्थान गर्ने छन्। तर, प्रशिक्षक अल्मुताइरी त्यसअघि नै कतार गएका हुन्। उनको प्रशिक्षणमा नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको छ। नेपालले पहिलो खेलमा भारतसँग १-१ गोलको बराबरी खेलेको थियो।
आइतबार भएको दोस्रो खेलमा भने नेपाल २-१ ले पराजित भएको थियो। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ।
नेपालले आयोजक माल्दिभ्ससँग १५ असोजमा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग १८ असोज गते खेल्नेछ। नेपालले तेस्रो खेलमा भारतसँग २४ असोज र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग २७ असोजमा खेल्नेछ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि ३० असोजमा प्रतिस्पर्धा गर्नेछन्।
अल्मुताइरीलाई साफ च्याम्पियन्सिपलाई एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको हो। अल्मुताइरी दक्षिण एसियाका सबै टिमको स्तर समान रहेको मान्दै आएका छन्। त्यसकारण नेपालदेखि माल्दिभ्ससम्म सबै टिमले साफ च्याम्पियन्सिपको उपाधिका लागि भिड्न सक्ने उनले बताउँदै आएका छन्।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु:
किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर,नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी,विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।