काठमाडौं– नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम काठमाडौं आइपुगेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीका अनुसार बंगलादेशी टिम आज सोमबार बिहान साढे १० बजे नेपाल आइपुगेको हो।
बंगलादेशले नेपालसँग भदौ २४ र २७ गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाल र बंगलादेशबीचको खेल हेर्न एन्फाले साधरणतर्फ २ सय रुपैयाँ र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकेको छ।
मंगलबार मात्रै महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन्। जसमा सात नयाँ खेलाडीले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
यसपटक प्रीति राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला विक र निशा थोकर गरी सात खेलाडीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। नेपाली टिम एसियन कपका लागि उज्वेकिस्तानमा आयोजना हुने छनोट प्रतियोगितामा समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। नेपालले असोज २ गते फिलिपिन्ससँग खेल्दै छनोटको सुरुआत गर्नेछ।
यस्तै, नेपालले दोस्रो खेलमा असोज ५ गते हङकङको सामना गर्नेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।