काठमाडौं– फिफा विश्वकपअन्तर्गत युरोपेली छनोट खेलमा जर्मनीले अर्मेनियामाथि फराकिलो जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा सम्पन्न खेलमा जर्मनीले अर्मेनियामाथि ६–० को जित निकालेको हो।
जर्मनीको जितमा सर्ज गिनाब्रीले दुई तथा मार्काे रिउस, टिमो वेर्नर, जोनास होफमान र करिम एडियमीले समान एक÷एक गोल गरे। पहिलो हाफमा ४ गोल गरेकमो जर्मनीले दोस्रो हाफमा दुई गोल थपेको थियो।
खेलको छैटौ मिनेटमा सर्ज गिनाब्रीको गोलबाट जर्मनीले अग्रता लिएको थियो। उनले लियोन गोरेट्जकाको पासमा गोल गरेका थिए। १५औं मिनेटमा मार्काे रिउसको पासमा गिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
खेलको ३५औं मिनेटमा मार्काे रिउसले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए। ४५औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई ४–० को स्थितिमा पुर्याएका थिए।
खेलको ५२औं मिनेटमा जोनास होफमानले गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए। इन्ज्युरी समयको पहिलो मिनेटमा सब्सिच्युट करिम एडिएमीले गोल गर्दै टोलीलाई ६–० को फराकिलो जित दिलाए।
जितपछि समूह ‘जे’ मा जर्मनीले अर्मेनियालाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ। जर्मनीको ५ खेलबाट १२ अंक पुगेको छ भने पराजित अर्मेनिया १० अंकका साथ दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।