काठमाडौं– छिमेकी राष्ट्र भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो।
भारतका लागि फारुकहाजी कासम चौधरी र कप्तान सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल गरेपनि हार टार्न सकेनन्।
खेलको १३औं मिनेटमा तेज तामाङको प्रहार भारतीय डिफेन्डरलाई डिफ्लेक्ट हुँदै आएको बलमा मनिष डाँगीले पेनाल्टी बक्समा सुवर्ण अवसर पाए पनि नियन्त्रणमा लिन सकेनन्।
२२औं मिनेटमा पुजन उपकोटीको प्रहारले दिशा लिन सकेन। २३औं मिनेटमा तेजले गोलरक्षक अमरिन्दर सिंह अघि बढेको मौकामा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।
२५औं मिनेटमा क्रसबाट आएको बललाई अनिरुद्ध थापाले नभेट्दै गोलरक्षक किरण चेम्जोङले क्लियर गर्दै अग्रता बनाउन दिएनन्।
२८औं मिनेटमा आयुष घलानको क्रसलाई पेनाल्टी बक्समा आशिष लामाले हेडर गर्न सकेनन्। ४१औं मिनेटमा मनविर सिंहको क्रसमा विपिन सिंह थोउनाओजमको हेडरलाई अनन्त तामाङले हेडरमार्फत् क्लियर गरेर संकट टारे।
दोस्रो हाफमा भारतले सुधारिएको प्रदर्शन गर्यो। भारतका लागि सब्सिच्युट खेलाडी फारुकहाजी कासम चौधरीले ६२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
६८औं मिनेटमा विशाल राई र नवयुग श्रेष्ठको समन्वयमा बनेको मुभमा नवयुग चुक्दा नेपालले खेललाई बराबरी गर्न चुक्यो। उनले पेनाल्टी बक्समा सुवर्ण अवसर चुकाएका थिए।
८१औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर पारे। काउन्टर अट्याकमा सुनिलले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै गोलरक्षक किरणलाई सहजै बिट गर्दे गोल गरे।
८७औं मिनेटमा नेपालका लागि तेज तामाङले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। उनको राष्ट्रिय टोलीबाट यो पहिलो गोल हो।
यसअघि बिहीबार भएको पहिलो खेलमा भारतले नेपाललाई १-१ गोलको बराबरीमा रोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।