काठमाडौं– डाइभर्सिटी भिसा (ईडीभी) परेर अमेरिका जाने प्रक्रियाका लागि शैक्षिक योग्यताका नक्कली प्रमाणपत्रहरु पेस गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
अमेरिकन डाइभर्सिटी भिसा २०२० को नतिजामा नाम निकालेर अमेरिका जाने प्रयोजनका लागि अमेरिकी दूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेलाई प्रहरीले पक्राउ गरेको हो।
अमेरिकी दूतावासको समन्वयमा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको महाराजगञ्जस्थित अमेरिकी दूतावाससहित विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा पाल्पाको तानसेन नगरपालिका–३ घर भएका ३५ वर्षीय सुमित रत्न गुभाजु, मोरङको पथरी शनिश्चरे–६ घर भएका ३५ वर्षकै अमर बहादुर कटुवाल, नवलपरासीको गैंडाकोट नगरपालिका–३ बेल्डिया घर भएका ३० वर्षीय नरेश केसी, नवलपरासकीको देवचुली–१७ घर भएका ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रेको बनेपा–१० घर भएका दिप विष्ट र काठमाडौंको टेकु घर भएका २३ वर्षीय सोहिली शाही छन्।
प्रहरीका अनुसार डीभी परिसकेपछि उनीहरुले अमेरिका जाने 'प्रोसेसिङ'का लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
उनीहरुका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकाहरुको साथबाट एसएलसी तथा प्रविणता प्रमाण पत्र र प्लसटू पास गरेको देखाउने नक्कली प्रमाणपत्रहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।