काठमाडौं- छिमेकी राष्ट्र भारतविरूद्वको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा २५ मिनेटसम्म भारतलाई दबाबमा राखे पनि त्यसपछि नेपालले अपेक्षाकृत खेल प्रदर्शन गर्न सकेन।
बिहीबार भएको पहिलो खेलमा भारतले नेपाललाई १-१ गोलको बराबरीमा रोकेको थियो। नेपालका लागि ३६औं मिनेटमा अन्जन विष्टले गोल गरे पनि भारतले खेल बराबरीमा सक्काएको थियो। भारतका लागि अनिरूद्र थापाले बराबरी गोल फर्काएका थिए।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको खेलमा भारतविरुद्ध तीन खेलाडी परिवर्तन गरेका छन्। उनले अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठलाई बेञ्चमा राखेर आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई पहिलो रोजाईमा मौका दिएका छन्।
नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले नै सम्हालिरहेका छन्।
चेम्जोङ राष्ट्रिय टोलीबाट ७४औं खेल खेल्दै नेपालबाट सर्वाधिक क्याप जित्ने खेलाडी बनेका छन्। उनले यसअघि भारतविरुद्धको पहिलो मैत्रीपुर्ण खेलमा यसअघिका कप्तान विराज महर्जनको कीर्तिमानलाई बराबरी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।