काठमाडौं- सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) नेकपा (एमाले) भन्दा ठूलो दल बनेको छ। नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादी ठूलो दल बनेको हो।
यसअघि १० जना सांसद मात्रै एकीकृत समाजवादीमा रहेको अवस्थामा आइतबार थप तीनजना सांसदले सनाखत गरेपछि अब सुदूरपश्चिम प्रदेश सभामा एमाले भन्दा ठूलो दल एकीकृत समाजवादी बनेको छ।
नेकपा एकीकृत समाजवादीकी सांसद एवं सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले प्रदेश सभामा आफ्नो दल नेकपा माओवादी केन्द्रकै हैसियत बराबर रहेको बताइन्।
उनले अझै नेकपा एमालेबाट एकीकृत समाजवादीमा सनाखत गर्ने सांसदको संख्या बढ्ने समेत दाबी गरिन्। आइतबार नेकपा एमालेमा रहेका सांसद दीर्घ स्वडारी, तारा लामा तामाङ र प्रकाश रावलले एकीकृत समाजवादी रोजपछि उक्त पार्टीका सांसदको संख्या १३ पुगेको छ।
नेकपा एमालेको सुदूरपश्चिम प्रदेशमा सभामुख बाहेक २४ सिट रहेको थियो। १३ जना समाजवादीमा गएपछि एमालेमै रहने सांसद ११ जना मात्रै रहेका छन्।
आज सनाखत गर्ने सांसद स्वडारी सुदूरपश्चिम प्रदेश सभाका मन्त्रीसमेत हुन्। उनी एमाले कैलालीको अध्यक्ष समेत थिए।
त्यस्तै, सांसद तारा लामा तामाङ एमाले कञ्चनपुरका अध्यक्ष हुन्। सांसद रावल कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित हुन्। उनी एमाले उपाध्यक्ष भीम रावलका नजिकका नेता मानिन्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।